काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा औद्योगिक तथा व्यावसायिक क्षेत्रका युवा उद्यमीदेखि नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी काम गरेका पूर्वबैंकर र ऊर्जा तथा पूर्वाधार वित्तका अनुभवी व्यक्तिसम्मको प्रतिनिधित्व छ ।
बैंकको सञ्चालकमा उद्योग, बैंकिङ, जलविद्युत्, निर्माण, ऊर्जा वित्त, मानव संसाधन र संस्थागत सुशासनका क्षेत्रका अनभुवी रहेका छन् । माछापुच्छ्रे बैंकले २०५७ असोज १७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको स्वीकृति पाएको थियो ।
बैंकले स्ट्यान्डर्ड फाइनान्स लिमिटेडलाई गाभेपछि २०६९ असार ११ गते ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा कारोबार गर्ने स्वीकृति पाएको थियो । त्यसपछि २०६९ असार २५ गतेदेखि माछापुच्छ्रे बैंक लिमिटेडकै नामबाट कारोबार सञ्चालन गर्दै आएको छ ।
रोशन केसी
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसी औद्योगिक, व्यापारिक तथा वाणिज्य क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय व्यवसायी हुन् । उनी २३ नोभेम्बर २०२३ देखि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् । त्यसअघि १२ डिसेम्बर २०१४ देखि बैंकको सञ्चालक रहेका केसीले २७ अप्रिल २०१७ देखि ४ जनवरी २०१९ सम्म पनि अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
केसी प्रतिष्ठित केसी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । उनी सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड तथा गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलगायत विभिन्न कम्पनीसँग आबद्ध छन् । औद्योगिक तथा व्यावसायिक गतिविधिसँगै जलविद्युत् क्षेत्रमा समेत संलग्न रहेका केसीले व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । बैंकको सञ्चालक समितिमा लामो समयदेखि आबद्ध रहँदै आएका केसीसँग बैंकको नेतृत्व र संस्थागत गतिविधिको अनुभव छ ।
मुकुन्द महत
माछापुच्छ्रे बैंकका सञ्चालक मुकुन्द महत चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकर हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी सेवा गरेका छन् । केन्द्रीय बैंकमा कार्यरत रहँदा उनले वित्तीय सूचना इकाई (एफआईयू) प्रमुख, बैंक सुपरिवेक्षण विभागका निर्देशक तथा मानव संसाधन व्यवस्थापन विभागका निर्देशकजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
महत २९ मे २०२० देखि २८ मे २०२४ सम्म माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकका रूपमा समेत कार्यरत थिए । उक्त अवधिमा उनले बैंकको रणनीतिक दिशा र संस्थागत सुशासन सुदृढीकरणमा योगदान गरेका थिए । वित्तीय व्यवस्थापन, बैंक सुपरिवेक्षण, जोखिम नियमन तथा संस्थागत सुशासनमा लामो अनुभव हासिल गरेका महतको पृष्ठभूमि बैंकको सञ्चालक समितिका लागि महत्त्वपूर्ण छ ।
विश्वप्रकाश गौतम
विश्वप्रकाश गौतम बैंकका अनुभवी सञ्चालक हुन् । उनी २२ पुस २०७३ देखि विभिन्न कार्यकालमा बैंकको सञ्चालक समितिमा रहँदै आएका छन् । उनले २२ पुस २०७३ देखि २ पुस २०७७ सम्म र २ पुस २०७७ देखि २८ पुस २०८१ सम्म सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । हाल उनी ५ साउन २०८२ देखि सुरु भएको कार्यकालमा सञ्चालकका रूपमा कार्यरत छन् ।
व्यवसाय प्रशासनमा स्नातक गरेका गौतम वित्तीय, जलविद्युत् तथा निर्माण क्षेत्रमा सक्रिय छन् । बैंकको सञ्चालकका रूपमा उनले संस्थागत सुशासन, नियामकीय अनुपालन तथा रणनीतिक विकाससम्बन्धी विषयमा भूमिका निर्वाह गर्दै आएका छन् । बैंकिङ क्षेत्रबाहेक विभिन्न जलविद्युत् तथा निर्माणसम्बन्धी कम्पनीमा समेत आबद्ध रहेका गौतमसँग वित्तीय व्यवस्थापन र व्यावसायिक सञ्चालनको अनुभव छ ।
सुनीलनारायण श्रेष्ठ
बैंकका सञ्चालक सुनीलनारायण श्रेष्ठसँग बैंकिङ तथा वित्तीय सेवामा दुई दशकभन्दा बढीको अनुभव छ । उनले अमेरिकाको युनिभर्सिटी अफ अर्कान्सासबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । साथै, अमेरिकाको हार्वर्ड बिजनेस स्कुलबाट कार्यकारी शिक्षा कार्यक्रम पूरा गरेका छन् ।
श्रेष्ठले साविक नेपाल एक्सप्रेस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा एक दशकभन्दा बढी समय काम गरेका थिए । त्यसपछि कैलाश विकास बैंक लिमिटेडको सञ्चालक समितिमा रहेर काम गरेका उनी हाल नारायण इन्डस्ट्रियल एन्ड ट्रेडिङ हाउसका प्रबन्ध निर्देशक छन् ।
बैंकिङ, बीमा, जलविद्युत्, पेट्रोलियम, व्यापार तथा आतिथ्य क्षेत्रमा लगानी रहेको उक्त व्यावसायिक समूहको नेतृत्व गर्दै आएका श्रेष्ठसँग कार्यकारी व्यवस्थापन, वित्तीय योजना, संस्थागत सुशासन तथा लगानी रणनीतिको अनुभव छ । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा समेत कार्यरत रहिसकेका छन् । हाल उनी सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको महासभा सदस्यका रूपमा आबद्ध छन् ।
मनिषा भण्डारी
माछापुच्छ्रे बैंककी सञ्चालक मनिषा भण्डारीसँग व्यवसाय व्यवस्थापन, मानव संसाधन तथा परियोजना कार्यान्वयनको अनुभव छ । उनले व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र ग्रामीण विकासमा स्नातकोत्तर (एमए) गरेकी छन् ।
भण्डारी हाल हिमश्री फुड्स प्रालिमा मानव संसाधन विशेषज्ञका रूपमा कार्यरत छन् । संस्थाको सञ्चालन प्रभावकारिता, व्यावसायिक वृद्धि तथा प्रतिभा विकाससम्बन्धी काममा उनी संलग्न रहँदै आएकी छन् । व्यावसायिक जिम्मेवारीसँगै उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।
अवसरबाट वञ्चित तथा पछाडि पारिएका समुदायको सशक्तीकरण र समावेशी विकासमा केन्द्रित विभिन्न पहलमा उनको संलग्नता रहेको छ । मानव संसाधन व्यवस्थापन र सामाजिक उत्तरदायित्वसम्बन्धी अनुभवसहित उनी बैंकको सञ्चालक समितिमा रहेकी छन् ।
अर्जुनकुमार गौतम
अर्जुनकुमार गौतम वित्त, संस्थागत सुशासन, बैंकिङ तथा ऊर्जा क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव भएका पेशेवर हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । साथै, उनले व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) गरेका छन् ।
गौतमले कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सन् २०१९ देखि २०२१ सम्म नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालकका रूपमा काम गरेका थिए । उक्त अवधिमा उनले रणनीतिक निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा लेखापरीक्षणसम्बन्धी समितिमा भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनले सन् २०२१ देखि २०२५ सम्म हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए । एचआईडीसीएलमा रहँदा उनले जलविद्युत् विकास तथा पूर्वाधार वित्तको क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गरेका थिए ।
कम्पनीको इक्विटी लगानी रहेका विभिन्न ऊर्जा कम्पनीको सञ्चालक समितिमा संस्थाको प्रतिनिधित्व गर्दै रणनीतिक निगरानी र संस्थागत सुशासन सुदृढीकरणमा समेत भूमिका निर्वाह गरेका थिए । गौतमले ऊर्जा वित्त, जोखिम व्यवस्थापन, परियोजना सुशासन, ऊर्जा रूपान्तरण र ठूला पूर्वाधार परियोजनाको वित्तीय संरचनासम्बन्धी विषयमा विश्लेषणात्मक लेख तथा प्रकाशनमार्फत नीतिगत बहसमा सहभागिता जनाउँदै आएका छन् ।
कृती महतो
बैंकको सञ्चालक कृती महतो अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा हासिल गरेकी छिन् । महतोसँग वित्तीय परामर्श तथा व्यावसायिक रणनीतिसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव छ । उनीसँग विभिन्न संस्थामा काम गरेको अनुभव छ ।