बैंकको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढ्यो, ६८ प्रतिशत कर्जाको धितो घरजग्गा
काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा कमी आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशत कर्जा प्रवाह बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ । गत असारमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।
१२.३ प्रतिशत बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन
काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असारमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।
शोधनान्तर तीन खर्ब रुपैयाँ बचतमा, चालु खाता ७२ अर्ब १६ करोड घाटामा
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १२ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार गत वर्ष २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, गत वर्ष चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाख रुपैयाँले घाटामा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६५४ अर्ब ५० करोड रुपैयाँ तथा दायित्व १७२९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो।