एकैपटक साढे १५ लाख कित्ता सेयर बेचेर हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक
काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का भीमसरियाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार बिडारीको ३५ हजार ९८० कित्ता गरी कूल १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।
सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पुल्चोक, ललितपुर स्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३३ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कसले किन्यो कुमारी बैंकको साढे २८ करोडको सेयर ?
काठमाडौं । मंगलबार कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर बिक्री भएको छ । एकैदिन बैंकको २५ लाख ३० हजार २६२ कित्ता प्रमोटर सेयर प्रतिकित्ता ११३ रुपैयाँमा किनबेच भएको हो । सो दिन ब्रोकर नम्बर ४ (ओपल सेक्युरिटिज), ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटज प्रा.लि), ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटज कम्पनी), ब्रोकर नम्बर ५९ (दिब्या सेक्युरिटज प्रा.लि) मार्फत बैंकको सो मात्राको प्रमोटर सेयर खरिद बिक्री भएको हो । सम्बन्धित स्रोतका अनुसार उक्त सेयर एमएस ग्रुपबीच आन्तरिक कारोबार भएको हो । उक्त सेयर एउटा संस्थापकले अर्को संस्थापकलाई बेचेको उक्त स्रोतले विकासन्युजलाई बतायो । दिनभरमा बैंकको ५ वटा कारोबारमा २५ लाख ३० हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको छ । सोमध्ये पहिलो कारोबारमा ४४ हजार ९२७ कित्ता सेयरको बिक्री ४९ नम्बर ब्रोकरबाट भएको छ भने ५९ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाट ६ लाख कित्ता सेयर किनेको छ । तेश्रो कारोबारमा पनि ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाटै पुनः ६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । र, चौथो र पाँचौ कारोबारमा क्रमशः ६ लाख र ६ लाख ४५ हजार ३३५ कित्ता सेयर किनबेच भएको देखिन्छ । उक्त सेयरको बिक्री ब्रोकर नम्बर ५८ बाट भएको छ भने खरिद ब्रोकर नम्बर ४ बाट भएको देखिन्छ ।