साविक सनराइज बैंकको स्वामित्वमा रहेका घरजग्गा बेच्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक (साविक सनराइज बैंक)ले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले मोरङ्गका २ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले मालपोत कार्यालय रंगेलीमा दर्ता कायम रहेको रंगेली नगरपालिका १ स्थित कित्ता नम्बर २४ को ०-१-४-३ क्षेत्रफल भएको घरजग्गा र मालपोत कार्यालय विराटनगर उपमहानगरपालिका १२ स्थित कित्ता नम्बर २०८ को ०-०-१०-० क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

बाढीले पुरिएको बैंकको डेढ करोड रुपैयाँ फेला

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि १ करोड ५ लाख ३२ हजार ९६४ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए । बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उनले बताए । प्रहरी नायब उपरीक्षक पौडेलले भने, “गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षितनै देखियो, बैंकको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।”

मर्जरपछि कुशल व्यवस्थापन गर्दै ग्लोबल आइएमई बैंक, विभिन्न सूचकाङ्कमा उत्कृष्ट

काठमाडौं । ग्लोबल आइएमई बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । २१ वटा बैंक तथा वित्तीय संस्था मर्जपछि बनेको यो बैंकले मर्जरलाई सहजरुपमा व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरुमा प्रतिस्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ । ग्लोबल आइएमई बैंक कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । निक्षेपतर्फ पनि यो बैंक सबैभन्दा अगाडि छ । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा यस बैंकले ४ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । कर्जा परिचालनको हिसाबले पनि ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको छ । गत जेठ मसान्तसम्ममा बैंकले ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा तथा सापटी दिएको राष्ट्र बैंकले जारी गरेको मासिक तथ्याङ्कमा उल्लेख छ । ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेर बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर तिर्ने बैंकको रुपमा अगाडि छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकद्धारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । रेमिट्यान्स भित्र्याउने कार्यमा पनि यो बैंक अरु भन्दा अगाडि उभिएको छ । २० वटा बैंकहरुमध्ये रेमिट बचत खातामा यस बैंकले सबैभन्दा बढी ब्याज दिईरहेको छ । ग्लोबल आइएमई बैंकले भाद्र महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा ब्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्यवस्था गरेको छ । सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ । रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ । ग्लोबल आइएमई ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् । मुलुकभित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिदैं आएको छ । नाम जस्तै ग्लोबल आईएमई बैंकले आफ्नो सेवा पनि अन्तर्राष्ट्रिय बजार लैजाने प्रयास गरेको छ । हाल यस बैंकले बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा बैदेशिक सम्पर्क कार्यालयहरु मार्फत बैकिङ सेवा दिईरहेको छ । यसरी बैंकले एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन् । २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनबाट बनेको ग्लोबल आईएमई बैंकले उत्कृष्ट बैकिङ सेवा दिने प्रयास गरिरहेको बैंकका डेपुटी सीईओ तथा सूचना अधिकारी सुरेन्द्रराज रेग्मीले बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनको पालना गर्दै ठूलो, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा बैंक अगाडि बढिरहेको उनले बताए । सबैका लागि बैंक भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष छन् । भेट्रान बैंकर्स रत्नराज बज्राचार्यले प्रमुख कार्यकारी अधिकृतको हैसियतमा यस बैंकको व्यवस्थापनकीय नेतृत्व गरिरहेका छन् ।