काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनी डिलिस्ट भएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मान्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै नेप्सेमा सूचीकृत कम्पनी डिलिस्ट हुने अवस्था आएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मानिने जनाएको छ ।
‘ऋणी कम्पनी नेपाल स्टक एक्सचेन्जबाट डिलिस्ट भएमा वा डिलिस्ट हुने प्रक्रियामा रहेमा, कर्जाको किस्ता वा ब्याज भुक्तानीको लागि ऋणीको वास्तविक वित्तीय अवस्था वा अनुमानित वित्तीय अवस्था पर्याप्त नभएमा,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
कस्ट ओभररन, टाइम ओभररन, क्यासफ्लो मिसम्याच जस्ता अल्पकालिन कारणले आम्दानीमा ह्रास आई कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी नभएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने छ ।
यस्तै, कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी भएतापनि प्रतिकूल बाह्य अवस्था वा अन्य कुनै कारणले ऋणीको भविष्यका किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी हुन नसक्ने अवस्था सिर्जना भएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने राष्ट्र बैंकले जनाएको छ ।