माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिले पाए अख्तियारी
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको उक्त लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । बैंकको २५औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने बताएका छन् । साथै, सेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको उनले जानकारी गराए । डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सँधै अर्थपुर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफल गर्दै आइरहेको जानकारी गराए । हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
कुमारी बैंकका ग्राहकलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा छुट
काठमाडौं । कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता भएको छ । कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच कुमारी बैंकका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले नेपालमै उत्पादन गर्ने
काठमाडौं । एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० रूपैयाँ करोड मध्ये सह–वित्तियकरण अन्तर्गत ३०० रूपैयाँ करोड लगानी रहने कम्पनीले जनाएकाे छ । विश्वको सातौं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ । मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।