ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता पनि घट्यो

काठमाडौं । अर्थतन्त्रमा परेको समस्याका कारण व्यवसाय खस्किएपछि बैंकहरुको वितरणयोग्य नाफामा असर परेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बैंकहरुको वितरणयोग्य नाफा र लाभांश क्षमता घटेको देखिन्छ । असोज मसान्तसम्ममा सबैभन्दा धेरै लाभांश क्षमता स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ३ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहँदा ४७.२२ प्रतिशत लाभांश क्षमता छ । यस्तै, एभरेष्ट बैंकको ४ अर्ब ५२ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ भने ४२.२६ प्रतिशत लाभांश क्षमता छ । सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ११ करोड रुपैयाँ र लाभांश क्षमता १३.८० प्रतिशत, नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ र लाभांश क्षमता १३.३४ प्रतिशत, कृषि विकास बैंकको ४३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा र १२.९३ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, नेपाल बैंकको वितरणयोग्य नाफा ३६ करोड ७५ लाख रुपैयाँ र लाभांश क्षमता १० प्रतिशत, ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ र ९.९६ प्रतिशत लाभांश क्षमता, प्राइम बैंकको वितरणयोग्य नाफा ६२ करोड ८६ लाख रुपैयाँ र लाभांश क्षमता ९.७८ प्रतिशत र नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा ९४ करोड ६४ लाख रुपैयाँ र लाभांश क्षमता ८.०७ प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम रहेको वितीय विवरणमा उल्लेख छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुमध्ये ६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको २ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यस्तै, हिमालयन बैंकको १ अर्ब ८५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९८ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८५ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंकको २३ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक भएपनि लाभांश क्षमता भने ३.३४ प्रतिशत रहेको तथ्याङ्क छ ।

सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई २५ लाख  रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुको उद्धार तथा उपचारमा सहयाेगको उद्देश्यले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोेग गर्ने बताएको हो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविश्यमा समेत यस्तो सेवा सहयोग गर्दै जाने बताएको छ ।