लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई दियो प्रिन्टर
काठमाडौं । लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैँकको देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । ‘शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ’, बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
यी ३३३ जनाको लकर फोर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंकले ३३३ जनाको लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ । काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको र सो रकम बुझाउन पटक-पटक पत्राचार गर्दा समेत नबुझाएपछि आफैं लकर फोर्ने बैंकले जनाएको छ । बैंकले लकर शुल्क तिर्न बाँकी रहेका ग्राहकहरुलाई ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गरी आफ्नो लकर नियमित गर्न आग्रह गरेको छ । यदि सो समयमा पनि शुल्क नबुझाएमा सरकारी प्रतिनिधिहरूको रोहवरमा लकर फोडी नियमानुसार अगाडि बढ्ने बैंकले जनाएको छ । नेपाल बैंकका प्रवक्ता तथा सूचना अधिकारी प्रकाश कुमार अधिकारी विगत १० वर्षदेखि शुल्क नतिरि लकर मात्रै ओगट्ने ग्राहकहरुको सूचना सार्वजनिक गरेको बताउँछन् । ३५ दिनभित्र शुल्क तिरेमा लकर नियमित हुने र सो समयमा नतिरे नियमअनुसार मुचुल्का बनाएर राख्ने उनको भनाइ छ । साथै, लकर अरुलाई प्रयोग गर्न दिने उनले बताए । ‘सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आउन सक्छन्, यदि आएनन् भने सरकारी प्रतिनिधि, प्रहरी, वडा प्रतिनिधि लगायत सबैको रोहवरमा मुचुल्का बनाएर राख्छौं, लकरमा भएको सम्पत्ति तत्काल सरकारको नाममा जाँदैन, केही समय बैंकमा नै रहन्छ,’ उनले भने, ‘मुचुल्का बनाएर राखेको लकरको हकदावी गर्न आउनुस भनेर फेरी सार्वजनिक सूचना जारी गर्छाैं, त्यो सूचनामा पनि कोही आउनु भएन भने त्यसपछि सरकारको नाममा जान्छ ।’ कतिपय लकरधनीहरुको मृत्यु भएको हुने भएकाले इष्टमित्र वा आफन्तहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । कतिपय लकरधनीहरुले परिवारको सदस्यलाई जानकारी नराएको हुन सक्ने उनको भनाइ छ । ‘लकरको शुल्क वार्षिक भुक्तानी गर्नु पर्छ, लकरको आकार हेरेर शुल्क निर्धारण गरिएको छ, बैंकसँग एक्स्ट्रा लार्ज ‘ए’, ‘बि’, ‘सी’ गरेर ४ क्याटागोरीका लकर छन्,’ उनले भने, ‘सबैभन्दा सानो ‘सी’ क्याटागोरी लकरको अनुमानित वार्षिक २५ सय, ‘बी’ क्याटागोरीको ५ हजार रुपैयाँ, ‘ए’ क्याटागोरको ७५ सय र सबभन्दा ठूलो लकरको २०/२५ हजार रुपैयाँसम्म शुल्क निर्धारण तोकिएको छ ।’ ग्राहकले साँचो हराउन सक्छ भनेर बैंकले धरौटी पनि लिएको हुन्छ । लकर भाडामा लिएपछि त्यसको एउटा चाबी ग्राहकले र मुख्य चाबी बैंकले आफैं राख्ने गरेका छन् । ग्राहकले लकरभित्र के र कति मूल्यका सामान राखे भनेर बैंकले हेर्न मिल्दैन । [pdf id=444761]