एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन् । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरेको महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडिबीको सहयोग रहेको छ । “हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो । थप परियोजनामा समेत सहयोग गर्न एडिबी सकारात्मक छ”, प्रमुख आचार्यले भने । उनले पोखराको पूर्वाधारसहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाको पहिचान गरिएको जनाए । पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको उल्लेख गर्दै प्रमुख  आचार्यले दिगो पर्यटन विकास आवश्यक रहेको बताए । एडिबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ । यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ । एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् । जसअन्र्तगत सहिदचोक–तीनकुने–राधाकृष्णमार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ । रासस

एनआईसी एशिया बैंकको नाफासँगै ईपीएस पनि घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४२.४९ प्रतिशत घटेर १ अर्ब १ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोजसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख ४२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १४.६१ प्रतिशत घटेर १५ अर्ब २२ करोड २७ लाख रुपैयाँ, निक्षेप संकलन १६.७९ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँ र कर्जा १२.३५ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३२.५३ रुपैयाँ घटेर २७.०९ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८०.८९ प्रतिशत र आधारदर १०.५६ प्रतिशत रहेको छ ।

नबिल बैंकले कमायो डेढ अर्ब नाफा, लाभांश क्षमता १३.३४ प्रतिशत

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेर ७५ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेर ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको लाभांश क्षमता १३.३४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६.२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ घटेर २१.७२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८६.५३ प्रतिशत र आधार दर ९.५८ प्रतिशत रहेको छ ।