ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ
काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।
ग्लोबल आइएमई बैंकले अब मर्जर नगर्ने, लाभांश पारित गर्न बोलायो साधारणसभा
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट ३ जना नयाँ सञ्चालकको चयन गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । विगतका वर्षहरुमा बैंकले मर्जरको एजेण्डा राख्ने गरेको भएपनि यस वर्ष भने सो एजेण्डा साधारणसभामा राखिएको छैन । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी बैंकले बढी ब्याज दिने
काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज मंसिर १ गतेदेखि लागू भएको छ । मंसिर महिनाका लागि बैंकहरुले कात्तिक मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १३ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले भने ब्याजदर बढाएको छ । साथै, ६ वटा बैंकले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गर्ने भएका हुन् । मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको हो । बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत, एनएमबि बैंकले मंसिरका लागि १.२४३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत तोकेको छ । यस्तै, कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.९१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, नबिल बैंकले ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, सानिमा बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यस्तै, प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, एभरेष्ट बैंकले ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले २.०३५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत प्रदान गर्ने छ ।