कामना सेवा विकास बैंकले कोशी अस्पताललाई दियो पानी फिल्टर र चिलर

विराटनगर । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई पानी फिल्टर गर्ने प्रणाली र चिलर हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई एक्वा वाटर फिल्ट्रेसन सिस्टम तथा चिलर उपलब्ध गराएको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन् ।

उपकरण हस्तान्तरण कार्यक्रममा अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई स्वच्छ तथा चिसो पिउने पानीको सुविधा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रशंसा गरे ।

बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा तथा समग्र सामाजिक विकासमा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बैंक तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । 

Share News