काठमाठौं । जुनसुकै कम्पनीलाई पनि कसरी आफ्नो प्रडक्टलाई बढीभन्दा बढी जनतामाझ पुर्याउने र लोकप्रिय बनाउने भन्ने चिन्ताचासो हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारी पनि आफ्नो प्रडक्टलाई कसरी अन्य संस्थाको भन्दा पृथक र श्रृजनात्मक बनाउने भनेर दिनरात मेहनत गरिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूले प्रडक्ट बनाउन लाखौं रकम र ठूलो समय खर्च गरेका हुन्छन् ।
सिटिजन्स बैंकले पनि डिजिटल बैंकिङ सम्बन्धि सचेतना फैलाउने उद्देश्यले श्रृजनात्मक भिडियो सार्वजनिक गरेको छ । बैंकले गत कात्तिक १६ गते आफ्नो आधिकारिक फेसबुक आइडी (सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड)मा ३ मिनेट ५४ सेकेण्डको भिडियो पोस्ट गर्दै डिजिटल बैंकिङ सचेतना दिएको हो ।
उक्त भिडियो अन्य भिडियो भन्दा पृथक छ । भिडियोमा चर्चित अभिनेत्री प्रियंका कार्कीको खेलौना पसल हुन्छ । सिटिजन्स बैंकबाट कर्मचारीले उनलाई फोन गरेर एटीएम कार्ड तयार भएको छ, समय मिलाएर लैजान आग्रह गरेको देखिन्छ । उनले पनि म लिन आउँछु भनेर फोन राख्छिन् ।
अब आफू पनि मोबाइल बैंकिङ एप डाउनलोड गरेर सबै कारोबार डिजिटल्ली गर्छु भनेर खुसी ब्यक्त गर्छिन् । सबै कारोबार डिजिटल्ली त गर्ने तर, डिजिटल्ली आफ्नो पैसाको सुरक्षा गर्न आउँछ ? एउटा आवाज सुनिन्छ । एक्लै पसलमा भएको बेला कसले प्रश्न गरेको होला भनेर अचम्मित पर्छिन् उनी। त्यत्तिकैमा अर्काे आवाज सुनिन्छ, हामीलाई माया गर्ने साहुनीको पैसा सुरक्षित राख्न सहयोग त गर्नु पर्याे नी । गुडीयाहरु बोलेको थाहा पाएपछि आफूहरुले के बोलिरहेको छ त्यो ध्यान दिएर सुन्नुहोस् भनेर जवाफ आउँछ ।
त्यसपछि पालैपालो गुडीयाहरूले डिजिटल मनीले पैसाको कारोबारलाई सजिलो बनाएको भएपनि अझ बढी सुरक्षित हुनु पर्ने जिम्मेवारी थपेको बताउँछन् । यस्तै, अनलाइन बैंकिङ लिनु भन्दाअघि यसका विषयमा सबै जानकारी लिनु पर्ने, सबै थाहा छ भन्दै जान्ने पल्टिँदा आफ्नै लागि घाटा हुन सक्ने ती गुडीयाहरुमार्फत् बैंकले सन्देश दिन खोजेको छ ।
अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक वेभसाइट मात्रै प्रयोग गर्ने र आधिकारिक एप मात्रै डाउनलोड गर्नुपर्छ । अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटमा पासवर्ड, पीन, प्याटर्न वा बायोमेट्रिकले अनिवार्य रुपमा लक गर्नुपर्छ ।
यस्तै, अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गर्नुपर्छ । कहिल्यै पनि इमेल लिंक वा अन्य कुनै पनि हाइपरलिंक क्लिक गर्नु हुँदैन । त्यस्तै, अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर प्रमाणीकरण (अथेन्टिकेसन), टू फ्याक्टर अथेन्टिकेसन, मोबाइल नम्बर, ओटिपी, फिङ्गर प्रिन्ट आदीको प्रयोग गर्नुपर्छ ।
गुडीयाहरूले डिजिटल सुरक्षा सम्बन्धि सन्देश दिइरहेका बेला अभिनेत्री कार्कीले अनी गुरुहरू…यो अनेक किसिमको नोटिफिकेसन, अलर्टहरू चाहिँ लिनु की नलिनू ? भनेर प्रश्न गर्छिन् । ‘सबै किसिमका अलर्ट सेवाहरू लिनुपर्छ । त्यसले तपाईंको खातामा हुने कुनै पनि किसिमको गतिविधिको सूचना तुरुन्तै दिन्छ,’ गुडीयाहरूले जवाफ दिन्छन् ।
‘आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनु पर्छ र आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पीन कोड, सीभिसी, ओटिपी, एमपीन, ट्रान्जिक्सन पीन, कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन । चाहे त्यसले बैंकको कर्मचारी नै हुँ भनेर फोन किन नगरोस् ।
अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नु पर्छ । र, बेला बेलामा परिवर्तन गरिरहनुपर्छ । यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नु हुँदैन । सकेसम्म सार्वजनिक वाईफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङको प्रयोग गर्नु हुँदैन । यदि गरिहालेमा लगवाइट वा साइनआउट भए नभएको चेक गर्नु पर्छ ।
साथै, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नु पर्छ । र, एटीएम कार्ड हराएको खण्डमा तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनु पर्छ ।
यी कुरा पालना गर्याे भने आफ्नो कारोबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिन्छ नी । यो भन्ने बित्तिकै उनी निद्राबाट ब्युझिन्छिन् । यताउती हेर्छिन आफैं सबै कुरा सपनामा देखेकी हुन्छिन् ।
बैंकका कर्मचारीहरूले कहिले पनि कुनै पनि माध्यमबाट ओटीपी, ट्रान्जेक्सन पीन, लगायत खातावालाको ब्यक्तिगत बैंकिङ विवरण माग्दैनन् । यदि कसैले माग्छन् भने त्यो सरासर ठगी हो भनेर बुझ्नु पर्छ ।
भीडीयाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।