‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् । दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए । उनले यस कार्यक्रममा सहभागी हुने नबिल बैंकका कर्मचारी, विज्ञहरू, साझेदार, तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए । ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलता मार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं’ उनले भने । नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् । नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् । यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत ग-यो।’ यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्री उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् । उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलता मार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा बापत ८ करोडको बीमा रकम भुक्तान
काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ । बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम भुक्तानी गरेको छ । कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरु माझ लोकप्रिय रहेको बैंकले जनाएको छ । बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
नेप्सेमा २ बैंकको बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुई बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८०.९५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३५२.९४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।