१० बैंकको लेखापरीक्षण गर्न ५ अडिट कम्पनी छानिए

काठमाडौं । वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न विभिन्न ५ वटा विदेशी अडिट (लेखापरीक्षण) फर्म छनोट भएका छन् । विभिन्न १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्म सर्टलिष्ट (छनोट) भएका नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका हुन् । नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका राष्ट्र बैंकले बताएको छ । जसमध्ये प्राइसवाटरहाउस कुपर र एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट भारत र नेपालको संयुत्त, लगानी भएका अडिट फर्म हुन् । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएका अलिडट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरक्षण थालनी गर्ने छन् । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछन् । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा ग्लोबल आइएमई पहिलो नम्बरमा छ । यस्तै, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनएमबि बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । आइएमएफसँग ३९ करोड ८८ लाख डलर विस्तारित कर्जा सुविधा (इसिएफ) माग गरेको छ । यो सुविधा प्राप्त गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्ममार्फत बैंकहरूको स्थलगत निरीक्षण गर्ने शर्त आइएमएफसँग गरेको छ ।

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नम्बर १ स्थित पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । देशका विभिन्न स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज काउन्टर उद्घाटन गरेको हो । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीय मधुसूदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि विभिन्न शुभारम्भ अफरहरू पाउने छन् । साधारण बचत खाता (न्यूनतम मौज्दात) १०० रूपैयाँ, चल्ती खाता (न्यूनतम मौज्दात) २,५०० रूपैयाँ तलबी बचत खाता (शून्य मौज्दात) नारी बचत खाता १,२५० रूपैयाँ डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ सेवा (पहिलो पटक निःशुल्क)पाउनेछन् । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६४ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सकंलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्टले सवा अर्ब बढी लगानी गर्ने, कृषि र एसएमईलाई प्राथमिकता

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडमा १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् । उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपालस्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत् यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन ।