प्राइम, एभरेष्ट, नबिलबीच आरओईमा टक्कर, एनएमबी र सानिमाले पच्छ्याउँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले औसत पौने ९ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राखेका छन् । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसत ८.८४ प्रतिशत रटर्न अन इक्विटी (आरओई) रहेको छ । बैंक कति बलियो छ भनेर रिटर्नअन इक्विटी (आरओई) अर्थात् सम्पत्तिमाथिको प्रतिफल हेरेर थाहा पाउन सकिन्छ । विभिन्न बैंकहरूले अर्बाैं नाफा गरेको देखाएपनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हेर्नुपर्ने हुन्छ । १० अर्बदेखि ३५ अर्बको हाराहारीको चुक्ता पुँजी भएका बैंकहरू छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्ने हुन्छ । सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो । रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । चैत मसान्तसम्म यस बैंकको आरओई १८.९२ प्रतिशत छ । प्राइम बैंक, एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक र सानिमा बैंकबीच आरओईमा प्रतिस्पर्धा देखिन्छ । प्राइमको आरओई १४.१५ प्रतिशत, एभरेष्टको १३.०४ प्रतिशत, नबिलको १२.०३ प्रतिशत, एनएमबीको १०.४३ प्रतिशत र सानिमाको १०.३४ प्रतिशत आरओई छ । साथै बैंकलाई नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । नेपाल एसबीआई र एनआईसी एशियाको समान आरओआई ८.८८ प्रतिशत छ भने सिद्धार्थको ८.८० प्रतिशत, कृषि विकासको ८.१५ प्रतिशत, सिटिजन्स र ग्लोबल आइएमईको समान ८.०४ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८५ प्रतिशत, हिमालयन बैंकको ७.७३ प्रतिशत, प्रभु बैंकको ७.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.११ प्रतिशत आरओआई छ । राष्ट्रिय वाणिज्य बैंकको ६.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६४ प्रतिशत, कुमारी बैंकको ४.०३ प्रतिशत र नेपाल बैंकको ०.४८ प्रतिशत रिटर्न अफ इक्वीटी छ ।

बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्यो

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ । पुँजी बजारमा बैंकहरूको सेयर मूल्यका आधारमा लगानीकर्ताको आकर्षण घटेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का १३ वटा उपसमूहमध्ये बैंकिङ समूहमा कुनै समय लगानीकर्ताको आकर्षण हुन्थ्यो । तर, पछिल्ला दिनहरूमा भने पहिलाको जस्तो चाम देखिँदैन । नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार बैंकहरूको सेयर मूल्य आईपीओको मूल्य सरह खस्किएको देखिन्छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये ११ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा कारोबार भइरहेको नेप्सेको तथ्याङ्क छ । कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता सेयर रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेका छन् । नेप्सेमा सूचीकृत बैंकहरूमध्ये ३ वटा बैंकको सेयर मूल्य १५० रुपैयाँ भन्दा पनि कममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्यमा कुमारी बैंकको सेयर कारोबार भइरहेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको यस बैंकको सेयर मूल्य हाल प्रतिकित्ता १३३ रुपैयाँमा कारोबार भएको छ । जबकी बैंकको बजार पुँजीकरण ३४ अर्ब ८८ करोड रुपैयाँ मात्रै छ । साथै, एक वर्षको अवधिमा बैंकको सेयर अधिकतम प्रतिकत्ता १९५.८० रुपैयाँ पुगेको थियो भने न्यूनतम १३१ रुपैयाँमा झरेको थियो । प्रभु बैंकको सेयर पनि १५० रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको छ । यस बैंकको सेयर प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । बैंकको सेयर मूल्य र पुँजीलाई आधार मान्दा ३२ अर्ब २७ करोड रुपैयाँ मात्रै बजार पुँजीकरण छ । त्यस्तै १५० रुपैयाँभन्दा कम मूल्यमा लक्ष्मी सनराइज बैंकको सेयर पनि कारोबार भइरहेको छ । २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर प्रतिकित्ता १४७ रुपैयाँमा बारोबार भइरहेको छ । यस आधारमा बैंकको बजार पुँजीकरण ३४ अर्ब १३ करोड रुपैयाँ छ । ५२ हप्ताको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २०८ रुपैयाँ पुगेको थियो भने न्यूनतम १४५ रुपैयाँसम्म झरेको थियो । यस्तै, सबैभन्दा धेरै पुँजी भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर प्रतिकित्ता १५२ रुपैयाँमा बारोबार भइरहेको छ । ३४ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण ५२ अर्ब १४ करोड रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २१७ रुपैयाँ पुगेको थियो भने न्यूनमत १५० रुपैयाँमा कारोबार भएको थियो । सिटिजन्स बैंकको सेयर बिहीबार प्रतिकित्ता १५५ रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता २०७.८० रुपैयाँसम्म सेयर मूल्य पुगेको बैंकको न्यूनमत मूल्य भने प्रतिकित्ता १५३ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । १४ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण २२ अर्ब ८ करोड रुपैयाँ छ । माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता १६६.३० रुपैयाँमा कारोबार भइरहेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम प्रतिकित्ता २८३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, एनएमबी बैंक सेयर प्रतिकित्ता १७३ रुपैयाँ, हिमालय बैंकको प्रतिकित्ता १७६ रुपैयाँ, प्राइम बैंकको सेयर १९३ रुपैयाँमा करोबार भइरहेको छ । नेपाल बैंकको सेयर मूल्य भने प्रतिकित्ता २ सय रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकबाट बाहिरिए १६ जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट डेढ दर्जन कर्मचारी बाहिरिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म राष्ट्र बैंकबाट अनिवार्य अवकाश लिई कुल १६ जना कर्मचारी सेवाबाट अलग भएका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । गत वर्ष फागुन मसान्तसम्म कुल २३ जना कर्मचारी बैंक सेवाबाट अलग भएका थिए । राष्ट्र बैंकका अनुसार जनशक्ति व्यवस्थापन विभागको नाम परिवर्तन गरी मानव संसाधन व्यवस्थापन विभाग कायम गरिएको छ । नेपाल राष्ट्र बैंक मानव संसाधन योजना (२०८०/८१-२०८४/८५) कार्यान्वयनमा ल्याई सोको अर्धवार्षिक समीक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, तालिम तथा क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । २०८० फागुन मसान्तमा अधिकृतस्तरमा ६३४, सहायकस्तरमा ४४१ र श्रेणी विहीन कार्यालय सहयोगी स्तरमा ७२ गरी कुल १ हजार १४७ कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३११ जना महिला र ८३६ जना पुरुष कर्मचारी छन् । आर्थिक वर्ष २०७९÷८० मा खुला प्रतियोगितात्मक विज्ञापनमार्फत अधिकृत तृतीय र सहायक द्वितीय श्रेणीमा क्रमशः १८ जना र २४ जनालाई स्थायी नियुक्ति दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा आह्वान गरिएको विज्ञापनमार्फत अधिकृतस्तरमा १५ जना र सहायकस्तरमा १५ जना बढवुाद्वारा पूर्ति गरिएका छ । समीक्षा अवधिमा करारतर्पm २८ पदमा खुला प्रतियोगितामार्फत पूर्ति गरिएको छ । साथै, प्रशासन सेवामा २६ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ६ गरी अधिकृतस्तरमा ३२ जना, सहायकस्तरतर्फ प्रशासन सेवामा २४ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ११ गरी कुल ३५ जना कर्मचारी नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।