सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भिवान्ता काठमाडौंबीच समझदारी भएको छ । बैंक र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच विशेष छुट सम्झौता
काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर १, महालक्ष्मिस्थान र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच जिएसएमएचआरसीका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । प्रभु बैंकद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ‘अस्पतालले केही दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ ।’ प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरबाट ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारा सहित बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ ।
एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनबाट सुरु गरेको छ । आईतबार आयोजित कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित बैंकले आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।