सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरुप सिलाई मेसिनहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफु हर्षित भएको पनि बताए । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।
ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री
काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि बैंकले उक्त सहयोग गरेको हो । राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा उक्त राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् । ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक प्रतिवद्ध रहेको छ ।
नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत मंसिर २८ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।