एनआईसीको नाफा खस्कियो, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई बैंक
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरूले साढे ५६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म २० वटा वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड ४ लाख रुपैयाँ नाफा गरेका हुन् । ११ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । यस बैंकले जेठसम्म ६ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ, प्राइम बैंक ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ३ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ अर्ब २ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । जेठसम्म हिमालयन बैंकले २ अर्ब ७६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब ३५ करोड रुपैयाँ, सटिजन्स बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा गरेका हुन् । ११ महिनाको अवधिमा िसानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ६७ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २८ करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा गरेका हुन् ।
माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा
काठमाडौं । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र नायब महाप्रबन्धक (डीजीएम)मा बढुवा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई डीसीईओ पदमा तथा सुभाष जमरकटेललाई डीजीएम पदमा बढुवा गर्ने निर्णय गरेको हो । काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेको बैंकले बताएको छ । बैंकका अनुसार सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । उनीहरु दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना
काठमाडौं । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत बैंकले यस्तो योजना ल्याएको हो । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर समेत ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ । साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ । कार्यक्रम बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए । यस्तै, उनले बैंकहरुले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभइ दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताए । बैंकहरु जिम्मेवारी भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएको बताए । ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने जानकारी दिए । नबिल बैंकले स्थापनादेखि आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । बैंकले सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाएको छ ।