आरविवि सेक्युरिटिजको व्यावसायिक धितोपत्र कारोबार सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैंया रहेको बैंकले जनाएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० श्राावण ३२ गते स्वीकृति प्राप्त गरेको आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको वि.सं. २०८१ माघ ३ गते मा नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो । त्यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । वित्तीय क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरुको सञ्चालक समितिवाट निर्देशित आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि अग्रणी कम्पनी बन्ने लक्ष्य राखेको छ । दरवारमार्गमा रहको कार्यलयबाट कम्पनीले हाल आफ्नो सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको थप ३ शाखा सञ्चालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा एकसाथ सञ्चालनमा ल्याएको छ । यो संगैे बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएको बैंकले जनाएको छ । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् । आज बैंकको मुख्य कार्यालयमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरुबाट अत्याधुनिक बैंकिङ सेवा सुविधा उपलब्ध गराएर ग्राहकहरुको मन जित्नको लागी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । साथै उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकको उपस्थिति रहने योजना रहेको समेत बताए । सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरूलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ । जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूको कलेज शुल्क, भिसा शुल्क लगायत भुक्तानीका लागि विद्यार्थीहरूलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ । जापान गएपछि विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सहज रूपमा पैसा पठाउन सक्नेछन् ।