सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको बैंकले जनाएको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी बितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० जना व्यक्तिहरु लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका-१, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका-६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालय रहेका छन् । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
मङ्गल कलश इन्भेष्टमेन्टले बेच्याे ग्लोबल आइएमई बैंकको २१ लाख कित्ता सेयर
काठमाडौं । ग्लोबल आइएमई बैंकका ६ ठूला सेयरधनीमध्ये एक रहेको मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको करिब २१ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । आइतबार बैंकको २० लाख ७५ हजार १०२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारको कारोबारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वाधिक कारोबारको सूचीमा छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रालि र सुमेरी सेक्युरिटिज प्रालिबाट खरिद बिक्री भएको छ । बैंकको संस्थापक सेयर दिनभरिमा ६ पटक खरिदबिक्री हुँदा २० करोड ७५ लाख १० हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । नेप्सेमा कारोबार भएको उक्त संस्थापक सेयर मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले बेचेको स्रोतले बताएको छ । मङ्गल कलश साविक लुम्बिनी बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी थियाे। साविक बैंक अफ काठमाण्डू (बिओके)मा लुम्बिनी बैंक विलय भएपछि बिओकेमा मङ्गल कलश इन्भेष्टमेन्ट दोस्रो ठूलो सेयरधनी थियो । साविक बिओकेमा मङ्गल कलशको ३.०४ प्रतिशत अर्थात् ३२ लाख ३० हजार ४३७ कित्ता सेयर स्वामित्व थियो । तर, ग्लोबल आइएमई बैंकसँग बिओके मर्जभएपछि मङ्गल कलशको हैसियत छैटौं नम्बरमा झरेको छ । बैंकमा यस कम्पनीको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता सेयर स्वामित्व छ । मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिका मालिक महेन्द्रकृष्ण श्रेष्ठ हुन् । उनी हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष हुन् । यस कम्पनीको दर्ता कार्यालय श्रेष्ठको निवास ललितपुर १० स्थित पुल्चोकमा रहेको छ । आइतबार ग्लोबल आइएमई बैंकको सेयर प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । तर, मङ्गल कलशले प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बेचेको छ । साधारण सेयर मूल्यको आधाभन्दा कम मूल्यमा संस्थापक सेयर कारोबार भएकोमा कर छलीको आशंका समेत गरिएको छ । तर श्रेष्ठका दाजुभाईले अंशवण्डा गरेपछि उक्त सेयर कम्पनीको नामबाट व्यक्तिको नाममा नामसारी भएको मङ्गल कलश इन्भेष्टमेन्टको दावी छ ।