सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र मर्सी सिटि अस्पतालबीच समझदारी भएको छ । बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटी अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने भएको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक रहेको बताइएको छ । यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ । साथै, बैंकको हालै सम्पन्न भएको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

मुक्तिनाथ विकास बैंकको अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई सहज तथा विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको हो । बैंकले फोन-पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो सेवा सुचारु पश्चात भारतीय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । यस प्रकारको सेवाहरुले भारतीय पर्यटकहरुलाई नगद बोक्ने झनझट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।