राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले मनायो ३५औं वार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच आइतबार सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डले एक समारोहकाबीच ३५औं वार्षिकोत्सब मूल कार्यक्रमको समुदघाटन गरे । सो अवसरमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बोनस तथा कर लयागतका विषयमा कर्मचारी प्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए । उनले जनताको सेवा गर्दा कर्मचारीले आफुले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि उठाइएका माग प्रति महासंघ सँधै साथमा रहेको जानकारी दिए । कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेको थिए । वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीहरुको उत्पादकत्व विषयमा कर्मचारीहरुबीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्धितीय र रुद्रप्रसद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका थिए । साथै, उक्त अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय अनिषा खनाल र तृतीय दिक्षा खड्का भएका थिए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघले वार्षिकोत्सवकै अवसरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्ती अनिलसँग अनलाइनबाट स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।
मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० का लागि ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको हो । यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६र०७७ , २०७७/७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो । आइक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १.निजी बैंकिङ्ग क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु) ३. उत्पादन क्षेत्र ४. शक्ति र ऊर्जा क्षेत्र ५. सेवा क्षेत्र छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट उक्त कम्पनीले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो । काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक समेत हो । हाल बैंकले देशैभरका आफ्ना शाखा संजालहरु मार्फत् आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दैै आएको छ ।