निफ्राबाट बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । एनआईसी एशिया बैंकले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक सेयर आज साउन ८ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । बैंकको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
साउन ११ गते मौद्रिक नीति ल्याउने तयारी, खतिवडा र गभर्नरबीचकाे छलफल सकियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति जारी गर्ने तयारी गरे पनि अन्तिम आवरमा रोकिएपछि अब साउन ११ गते सार्वजनिक गर्ने तयारी गरेको हो । गत साता मात्र बनेको नयाँ सरकारको चाहना र प्राथमिकतालाई समेटेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा. युवराज खतिवडाले सरकारका चासोका विषयहरू गभर्नर अधिकारीसमक्ष राखेका उच्च स्रोतले बतायो । स्रोतका अनुसार गभर्नर अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाबीच मौद्रिक नीतिका विषयमा छलफल भइसकेको छ । नयाँ मौद्रिक नीतिमा आउनु पर्ने विषयमा उनीहरु दुई जनाबीच सहमति भइसकेको बुझिएको हो । खतिवडा पूर्व गभर्नर र पूर्व अर्थमन्त्री पनि हुन् । खतिवडासँग मौद्रिक नीतिबारे राम्रो ज्ञान र अनुभव छ । गभर्नर अधिकारीले मौद्रिक नीतिबारे सुझाव लिन आयोजित सार्वजनिक कार्यक्रमहरुमा खुकुलो मौद्रिक नीति ल्याउने बताउँदै आएको थिए । तर, अहिले सरकार परिवर्तन भएको छ । सेयर बजार, घरजग्गा र अटोबजारलाई अनुत्पादक भन्दै यस क्षेत्रमा प्रवाह हुने कर्जाप्रति कठोर नीति लिँदै आएका युवराज खतिवडा गभर्नरलाई पनि निर्देशन दिने भूमिकामा रहेकाले चालु आर्थिक वर्षको लागि बन्दै गरेको मौद्रिक नीति कस्तो होला भनेर फरक-फरक काेणबाट विश्लेषण हुन थालिएकाे छ ।
एनएमबि बैंकले ८.९२ प्रतिशतमा घर कर्जा दिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा गरेको छ । बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सकिने बैंकले जनाएको छ । ‘घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो, यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।