ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्याण्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
प्यान अद्यावधिक गर्न एनआईसी एसियाको अनुरोध
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘ PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने ब्यहोरा समेत बैंक जानकारी गराएकाे छ । साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकको अनुरोध छ ।
कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक, राधेराधे, सनसिटी–पेप्सिकोला, बसुन्धरा चौकी, सितापाइला, बौद्ध, कौशलटार, इमाडोल, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । कुमारी बैंकका ग्राहकलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशुल्करूपमा उपलब्ध गराएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।