काठमाडौं । निक्षेप रकम थुप्रिँदा र कर्जा लगानी नहुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८.५१ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को असारसम्मको तथ्याङ्क अनुसार केही बैंकको सीडी रेसियो ६० प्रतिशत र औसत ७८.५१सम्म झरेको हो ।
गत वर्ष २०८०/८१ को असारसम्म वाणिज्य बैंकहरूले ५६ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४३ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस आधारमा बैंकहरूको सीडी रेसियो औसत साढे ७८ प्रतिशतमा झरेको हो । अर्थात् बैंकहरूसँग १२ खर्ब ९९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप थुप्रिएको हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ । यदि सीडी रेसियो ९० प्रतिशत कट्यो (बढी) भने बैंकहरूलाई राष्ट्र बैंकले कारवाही गर्छ । तर, सीडी रेसियोको न्यूनतम सीमा भने तोकिएको छैन ।
गत असारसम्मको तथ्याङ्क अनुसार सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.८२ प्रतिशतमा झरेको छ । गत असारसम्मकाे अवधिमा यस बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तर, कर्जा लगानी गर्न नसक्दा बैंकमा १ खर्ब ८० अर्ब २७ करोड रुपैयाँ थुप्रिएको छ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेश प्रसाद लोहनीका अनुसार तीन महिनाको अवधिमा ८० अर्ब रुपैयाँ निक्षेप बढेको छ । बैंकले कर्जा लगानी गर्न नसकेकाे कारण सीडी रेसियो कम भएकाे हाे । सीडी रेसियो कम हुँदा निक्षेपतर्फको ब्याज खर्च बढ्ने र आम्दानीमा असर गर्ने उनको भनाइ छ ।
‘बैशाख, जेठ र असार गरी ९० दिनको अवधिमा ७०/८० अर्ब रुपैयाँ निक्षेप बढ्यो, त्यसपछि सीडी रेसियो स्वाट्टै तल झर्याे, तीन महिनाको अवधिमा निक्षेप बढेपछि यस्तो भएको हो,’ उनले भने ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिना सकिन लाग्दा समेत सीडी रेसियो मेन्टेन गर्न नसकेको उनको भनाइ छ ।
गत असारसम्म प्राइम बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप र १ अर्ब ८१ अर्ब रुपैयाँ कर्जा, एनएमबी बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब १० अर्ब रुपैयाँ कर्जा, नबिल बैंकले ४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा, हिमालयन बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा, माछापुच्छ्रे बैंकले १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
सिटिजन्स बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा, कुमारी बैंकले ३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा, सानिमा बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा र एभरेष्ट बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
सामान्यतया ८० प्रतिशतदेखि ८५ प्रतिशतको बीचमा सीडी रेसियो कायम राख्दा उत्कृष्ट मानिने बैंकरहरू बताउँछन् । सीडी रेसियो ८० प्रतिशतभन्दा तल झर्दा नराम्रो नभएपनि बैंकको पफर्मेन्स खासै सन्तोषजनक मानिँदैन । त्यो बेलामा बैंकको आम्दानी घट्न गई नाफामा समेत स्वतः असर गर्छ ।
गत असारसम्म प्राइम कमर्सियल बैंकले ८३.९१ प्रतिशत, एनएमबीको ८३.९१ प्रतिशत, नबिलको ८३.६ प्रतिशत, हिमालयनको ८३.३७ प्रतिशत, माछापुच्छ्रेको ८३.३२ प्रतिशत, सिटिजन्सको ८२.४ प्रतिशत, कुमारी को ८१.४८ प्रतिशत, सानिमाको ८०.५३ प्रतिशत र एभरेष्टले ८०.२९ प्रतिशत सीडी रेसियो कायम राखेका छन् ।
विभिन्न ११ वटा बैंकको सीडी रेसियो भने ८० प्रतिशतभन्दा तल झरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ७९.२२ प्रतिशत, सिद्धार्थ बैंकको ७८.७ प्रतिशत, एनआईसी एशिया बैंकको ७७.९८ प्रतिशत, कृषि विकास बैंकको ७७.८ प्रतिशत, स्टयाण्डर्ड चार्टर्ड बैंकको ७६.८३ प्रतिशत, ग्लोबल आइमएई बैंकको ७५.८७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७५.८३ प्रतिशत, प्रभु बैंकको ७४.६६ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, नेपाल बैंकको ७२.९९ प्रतिशत सीडी रेसियो छ ।
गत असारसम्म एनआईएमबीले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा, सिद्धार्थ बैंकको २ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा, एनआईसी एशिया बैंकको ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा, कृषि विकास बैंकको २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब १ अर्ब रुपैयाँ कर्जा, स्टयाण्डर्ड चार्टर्ड बैंकको १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप र ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, ग्लोबल आइमएई बैंकको ४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा, लक्ष्मी सनराइज बैंकको ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप र २ ५० अर्ब रुपैयाँ कर्जा, प्रभु बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा, एसबीआई बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा, नेपाल बैंकको २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत वर्ष अपेक्षा अनुसारको कर्जा विस्तार नहुँदा सीडी रेसियो पनि घट्न पुगेको बैंकरहरू बताउँछन् । बैंकको सीडी रेसियो कम हुँदा बैंकले कर्जा लगानी गर्न नसकेको भनेर जनाउँछ । बैंकमा निक्षेप थप्रिँदा ब्याज खर्च बढ्ने भएकाले आम्दानीमा ब्रेक लाग्ने बैंकरहरूको भनाइ छ । गत वर्ष बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिएको र कर्जा लगानी हुन नसकेर सकसमा रहेका बैंकहरू चालु आर्थिक वर्षमा भने कर्जा वृद्धि हुने आशामा छन् ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता भागवत आचार्यले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत सीमा पार भयो भने मात्रै राष्ट्र बैंकले हेर्ने भएकोले कम हुँदा खासै चासो नहुने धारणा राखे ।
‘सीडी रेसियो कम हुनु भनेको बैंकले लगानी गर्न सकेन भनेर बुझ्नुपर्छ, बैंकहरुको सीडी रेसियो कम हुँदा बैंकहरु आम्दानी नै नभएर जोखिममा हुन्छन्, सीडी रेसियो घटेमा राष्ट्र बैंकको खासै चासो हुँदैन,’ उनले भने ।