हिमालयन बैंकको दुई शाखा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषास्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा सुरु गरेको छ । बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा– २ लाई जनकपुरधाम पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो । बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरे । हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २७२ एटिएम र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता
माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता पश्चात इक्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहजरूपमा उपलब्ध गराउनेछ । साथै, इक्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न, वित्तीय सचेतना भिडियो सार्वजनि
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारणमाझ सचेतना जगाउनको लागि #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागीता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सकाबीच उक्त भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बाहानामा ग्राहकहरूसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर ग्राहकहरूलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधिहरूको न्यूनिकरण हुने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ । स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा बैंकका उच्च व्यवस्थापनको समुह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरे ।