त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिनको भाडा पौने १ करोड रुपैयाँ
काठमाडौं । बैंकहरूले त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालन गर्दा पौने १ करोड रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा बैंकहरूले एटीएम मेसिन सञ्चालन गर्दा ७५ करोड ४३ लाख २७८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको हो । उक्त भाडा रकम भने ५ वर्ष अवधिका लागि रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवन परिसरमा एटीएम मेसिन सञ्चालन गर्न इच्छुक बैंकले बोलपत्र पेस गर्न आग्रह गरेको छ । हाल ग्लोबल आइएमई बैंकको एटीएम रहेको कोठामा प्रत्येक एटीएमको लागि १.३२ वर्गमिटर क्षेत्रफलका दरले जम्मा जम्मा ३.९६ वर्ग मिटर क्षेत्रफलमा जम्मा ३ वटा फरकफरक बैकको एटीएम खुला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको लागी आय ठेक्कामा दिइने नागरिक उड्डयन कार्यालयले बताएको छ । नेपाल राष्ट्र बैकबाट ‘क’ वर्गका वाणिज्य बैंकले प्रचलित कानूनको अधिनमा रही १५ दिनभित्र बोलपत्र दाखिला आग्रह गरेको छ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ ।
सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक
काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले बुधबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले ६० जना ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ । उनीहरूलाई बैंकले पटक-पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ । ‘क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लङ्घन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटकपटक ताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी कर्जा फछ्यौट गर्ने तर्फ तदारूकता नदेखाएको हुँदा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको हो,’ बैंकले सूचनामा भनेको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
२० प्रतिशत घट्यो बैंकहरूको कर्जाको ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको आधारदर औसत २ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूको औसत आधारदर ८.०७ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा अघिल्लो वर्षको तुनलामा बैंकहरूको आधारदर औसत २० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको असारमा बैंकहरूको आधारदर औसत १०.०५ प्रतिशत बिन्दुमा थियो । बैंकहरूले निक्षेपतर्फ निरन्तर ब्याजदर घटाएपछि आधारदर घट्न पुगेको हो । बैंकको आधारदर घट्नु भनेको कर्जाको ब्याजदर पनि स्वतः घट्नु हो । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत २० प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । गत असारको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ । स्ट्याण्डर्ड चार्टर्डले आधारदर २६.८२ प्रतिशतले घटाएर ६.६० प्रतिशत बिन्दुमा कायम राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधारदर ९.०२ प्रतिशत बिन्दुमा थियो । समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको आधारदर २३.०९ प्रतिशत घटेर ८.२६ प्रतिशत बिन्दुमा झरेको छ । यस बैंकबाट पनि कर्जा लिँदा कम ब्याज तिर्नुपर्ने हुन्छ । अघिल्लो वर्षको असारमा बैंकको आधारदर १०.७४ प्रतिशत आधारदर थियो । गत असारसम्म एभरेष्ट बैंकको २३.०२ प्रतिशत घटेर ७.२९ प्रतिशत बिन्दु, सानिमा बैंकको २२.८५ प्रतिशत घटेर ७.८३ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २२. ७१ प्रतिशत घटेर ८.३० प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर ८.२६ प्रतिशत बिन्दु, प्रभु बैंकको २१.०६ प्रतिशत घटेर ८.०२ प्रतिशत बिन्दुमा आधारदर कायम राखेका छन् । यस्तै लक्ष्मी सनराइज बैंकको २०.७४ प्रतिशत घटेर ८.५२ प्रतिशत बिन्दु, ग्लोबल आइमएई बैंकको २०.६८ प्रतिशत घटेर ८.०९ प्रतिशत बिन्दु, नबिल बैंकको १९.८५ प्रतिशत घटेर ७.६३ प्रतिशत बिन्दु, प्राइम बैंकको १९.६७ प्रतिशत घटेर ८.४९ प्रतिशत बिन्दु, नेपाल बैंकको १९.६५ प्रतिशत घटेर ७.९७ प्रतिशत बिन्दु, कृषि विकास बैंकको १९.५८ प्रतिशत घटेर ८.०९ प्रतिशत बिन्दुमा आधारदर झारेका हुन् । यस्तै एनएमबी बैंकको १८.८० प्रतिशत घटेर ८.४२ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १८.१६ प्रतिशत घटेर ८.११ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.८४ प्रतिशत घटेर ७.६९ प्रतिशत बिन्दु, हिमालयन बैंकको १६.३९ प्रतिशत घटेर ९.०८ प्रतिशत बिन्दु, कुमारी बैंकको १८.४४ प्रतिशत घटेर ८.८९ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको १४.९५ प्रतिशत घटेर ६.७१ प्रतिशत बिन्दु र एनआईसी एशिया बैंकको ७.९१ प्रतिशत घटेर ९.१९ प्रतिशत बिन्दुमा आधारदर झारेका हुन् । अहिले अधिकांश वाणिज्य बैंकहरूको आधारदर एकल अंकमा भएकाले ऋण लिँदा पनि कम लागत लाग्ने गर्दछ । बैंकहरुले आफ्नो आधारदरमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् ।