एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड स्वीकार गर्ने सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार अब नेपालपे कार्डधनीले एनआईसी एशिया बैंकका एटीएम तथा पीओएस टर्मिनलमार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपे लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेपालपे राष्ट्रिय पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेपालको राष्ट्रिय कार्ड स्किम हो । यो कार्ड नेपालभित्र राष्ट्रिय पेमेन्ट स्विचमार्फत तथा विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिने व्यवस्था छ । यसले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने नेपालपे कार्डको प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । हालसम्म नेपालपे कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । तीमध्ये सात संस्थाले कार्ड जारी गरिसकेका छन् भने अन्य ११ संस्थाले एक्वायरिङ सेवा कार्यान्वयन गरिरहेका छन् । आगामी दिनमा यस प्रणालीमा आबद्ध संस्थाको संख्या थप विस्तार हुने अपेक्षा गरिएको छ । एनआईसी एशिया बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आफ्ना आन्तरिक प्रणाली तथा ग्राहक सेवामा प्रविधिमैत्री सुधार गर्दै आएको जनाएको छ । हाल बैंकले देशभर ३६० भन्दा बढी शाखा, विस्तारित काउन्टर, शाखारहित बैंकिङ सेवा तथा ६०० भन्दा बढी एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

७ प्रतिशत ब्याज पाइने लक्ष्मी सनराइज बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आज साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्री खुला गरेको हो ।  बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बिक्री गरिने बैंकले जनाएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरे साउन २८ गतेसम्म समय लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

कर्मचारी सञ्चय कोषका कर्मचारीलाई माछापुच्छ्रे बैंकको प्रिमियम बैंकिङ सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई लक्षित गरी विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सह–प्रशासक भरतराज बस्तीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यसमार्फत कर्मचारीले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । तलब व्यवस्थापन खातासँगै ग्राहकको आवश्यकता अनुरूप बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराइनेछ । बैंकले विभिन्न सरकारी निकायका तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ । आधुनिक प्रविधिमा आधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई अझ गुणस्तरीय वित्तीय सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ ।