बेनामे बैंकको सीईओ खोजीले बैंकिङमा तरङ्ग
काठमाडौं । प्रमुख जिम्मेवारी- दिगो वृद्धि सुनिश्चित गर्न रणनीतिक नेतृत्व प्रदान गर्ने, नियामक आवश्यकता तथा संस्थागत सुशासन मापदण्डको पालना सुनिश्चित गर्ने, दिगो वृद्धि, नाफा तथा जोखिम व्यवस्थापनलाई अगाडि बढाउने, संगठनात्मक क्षमता र सरोकारवालासँगको सम्बन्धलाई सुदृढ बनाउने । योग्यता- व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखा, तथ्याङ्क, गणित, व्यवसाय प्रशासन वा कानूनमा स्नातकोत्तर डिग्री, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, तथ्याङ्क, लेखा, गणित, व्यवसाय प्रशासन वा कानूनमा स्नातक डिग्री हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठन, विश्वविद्यालय वा समान क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको । बैंकिङ सञ्चालन, जोखिम व्यवस्थापन र नियामक ढाँचाको सुदृढ ज्ञान भएको, नेपाल राष्ट्र बैंकले तोकेको ‘फिट एन्ड प्रपर’ मापदण्ड पूरा गरेको तथा आवेदन दिने अन्तिम मितिसम्म उमेर ५५ वर्ष ननाघेको व्यक्ति । प्रमुख योग्यता- रणनीतिक सोच र नेतृत्व क्षमता, उच्च निष्ठा र व्यावसायिक नैतिकता, बलियो सञ्चार तथा सरोकारवाला व्यवस्थापन सीप, कर्जाजन्य जोखिम र पोर्टफोलियो व्यवस्थापनमा प्रमाणित अनुभव । यी माथिका मापदण्ड राष्ट्रियस्तरका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तोकिएका हुन् । उक्त मापदण्ड पूरा भएका इच्छुक उम्मेदवारले भ्याकेन्सी डट लिडरसिप एट द रेट जिमेल डटकममा मा आवेदन दिन सक्नेछन् । आवेदनसँगै सीभी, अपेक्षित तलब तथा सुविधासहितको आवरण पत्र, शैक्षिक तथा अनुभवसम्बन्धी प्रमाणपत्रहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो आवेदन आह्वानसम्बन्धी सूचना गत शुक्रबार (चैत ६ गते) कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित भएको हो । नाम उल्लेख नगरिएको (बेनामे) राष्ट्रियस्तरको विकास बैंकका लागि योग्य, दक्ष, ऊर्जावान तथा परिणाममुखी नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । बेनामे बैंकका लागि सीईओको आवेदन आह्वान भएपछि विकास बैंक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । राष्ट्रियस्तरका विकास बैंकका सीईओहरूमा आफ्नो पद सुरक्षित रहन्छ कि रहँदैन भन्ने त्रास बढेको छ । कतै सञ्चालकहरूले अनौपचारिक रूपमा आवेदन आह्वान गरेर परीक्षण गर्न खोजेका हुन् कि भन्ने चासो देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक गरी ८ वटा विकास बैंक राष्ट्रियस्तरका रहेका छन् । मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युन पोखरेल हुन् । वि.सं. २०७९ बैशाख २० गते बसेको बैठकले उनलाई जेठ १ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । दुई कार्यकाल सफलतापूर्वक पूरा गरेका पोखरेलको कार्यकाल आगामी २०८३ जेठ १ गते सकिँदैछ । उनको दोस्रो कार्यकाल सकिने मिति नजिकिएपछि बैंक सञ्चालक समितिले सीईओ छनोट समिति गठन गरिसकेको छ । तर, व्यवस्थापन तहबाट भने सीईओका लागि आवेदन आह्वान गरिएको छैन । यदि सञ्चालक समितिबाट प्रक्रिया अघि बढेको भए आफूहरूलाई जानकारी नहुने बैंक स्रोतको भनाइ छ । ‘हाम्रो बैंकमा सीईओ पद रिक्त हुँदैछ । सञ्चालक समितिले सीईओ छनोट समिति पनि गठन गरेको छ । सो समितिले काम गरिरहेको हुन सक्छ । समितिमार्फत प्रक्रिया अघि बढेमा हामीलाई जानकारी नहुन सक्छ,’ बैंक स्रोतले भन्यो । सीईओ छनोट सिफारिस समितिमा सञ्चालक नारायण कुमार श्रेष्ठ, सरोजा श्रेष्ठ र उमेश कुमार आचार्य रहेका छन् । लुम्बिनी विकास बैंकका सीईओ नरेशसिंह बोहरा हुन् । उनलाई वि.सं. २०७९ असार ३० गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । उनको कार्यकाल अझै करिब साढे ३ महिना बाँकी छ । बैंकका सीईओको कार्यकाल आगामी असार मसान्तसम्म रहनेछ । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको कार्यकाल आगामी भदौ १९ गतेसम्म रहेको छ । उनलाई वि.सं. २०७९ भदौ ५ गते बसेको बैठकले दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडेलको कार्यकाल २०८३ माघ १ गतेदेखि समाप्त हुनेछ । वि.सं. २०७९ पुस २९ गते बसेको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकले पनि आवेदन आह्वान नगरेको जनाएको छ । यदि सीईओका लागि आवेदन आह्वान गर्ने भए बैंकको नामसहित सार्वजनिक गर्ने एक उच्च अधिकारीले बताए । ज्योति विकास बैंकका कपिल ढकाल, गरिमा विकास बैंकका माधवप्रसाद उपाध्याय, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल र कामना सेवा विकास बैंकका दिनेश थकालीको कार्यकाल सकिन धेरै समय बाँकी रहेको देखिन्छ । त्यसकारण यी बैंकबाट पनि आवेदन आह्वान भएको देखिँदैन । विकासन्युजले सबै बैंकसँग बुझ्दा कसैले पनि सीईओका लागि विज्ञापन आह्वान नगरेको बताएका छन् । एक बैंकरका अनुसार संस्थागत रणनीतिअनुसार नाम नखुलाई सीईओका लागि आवेदन आह्वान गर्न सकिन्छ । अनावश्यक दबाबबाट बच्न यस्तो अभ्यास गरिएको हुन सक्ने उनको भनाइ छ । यसैबीच, ‘कारोबार’ दैनिकले उक्त विज्ञापन एजेन्सीमार्फत आएको जनाएको छ । एन मल्टिनेशन मिडिया नेटवर्कमार्फत विज्ञापन आएको जानकारी दिइएको छ । उक्त एजेन्सीको वेबसाइटमा मुक्तिनाथ विकास बैंक क्लाइन्टका रूपमा देखिए पनि बैंकले सीईओका लागि कुनै विज्ञापन प्रकाशन गर्न नपठाएको जनाएको छ । एजेन्सीका अनुसार कुनै एक व्यक्तिले आफ्नो पहिचान गोप्य राखी निश्चित कमिसन दिएर विज्ञापन प्रकाशनका लागि पठाएको हो । तर, ती व्यक्तिको पहिचान भने गोप्य राखिएको छ ।
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना पूरा गर्न सबैसँग समान अवसर नहुने यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको जनाएको छ । बैंकका अनुसार कसैका लागि सामान्य देखिने विद्यालय झोला यी बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो । अभियानमार्फत विद्यार्थीहरूलाई झोला मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशासमेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुशीले सामग्री प्राप्तिभन्दा पनि 'अब म पनि सक्छु' भन्ने आत्मविश्वास झल्किएको बैंकको भनाइ छ । यस अभियानअन्तर्गत बैंकले शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदरसमेत गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकेको जनाएको छ ।
कामना सेवा विकास बैंक र होटल अशोकाबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अकोमोडेसन तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीले लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।