नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइन बैंक खाता खोल्ने सुविधा सुरु गरेको छ । अब नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् । बैंकका अनुसार नागरिक एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर बैंकको वेबसाइटमार्फत सहज रूपमा खाता खोल्न सकिनेछ । नेपालमै पहिलो पटक नागरिक एपसँग जोडिएको यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ । यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध नागरिकका लागि उपलब्ध हुनेछ । खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्नेछ । यसबाट ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको विश्वास छ । नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखामा पुगेर वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ । बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ विस्तारमा थप टेवा पुर्याउनेछ । साथै, नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंक आधुनिक प्रविधिमा आधारित सेवा र ग्राहकमैत्री बैंकिङका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित हुँदै आएको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ सहित विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । हाल बैंकले देशभर ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेको बैंकले जनाएको छ ।
आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं । नबिल बैंक ‘चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्डबाट सम्मानित भएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । बैंकका अनुसार उक्त सम्मानले बैंकिङ सेवा तथा नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउन थप प्रेरणा मिल्नेछ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु बैंकका लागि गौरवको विषय भएको बताए । उनले बैंकप्रति विश्वास र साथ दिने ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो । यसले भारतका प्रमुख व्यावसायिक समूहहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार र लगानी प्रवर्द्धनका लागि काम गर्दै आएको छ । नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिसमेत जितेको थियो । बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व र समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको थियो ।
अब वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्मको अल्टिमेटम
काठमाडौं । इ–सेवा, खल्ती वा अन्य कुनै पनि डिजिटल वालेट खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखबाट विवरण यकिन गरी मात्र वालेट खोल्ने व्यवस्था गर्नुपर्नेछ । यस्तै, सबै वालेट सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ । राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वालेटमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबिना अन्य आवश्यक कागजातका आधारमा डिजिटल वालेट खोल्न सक्नेछन् । तर, नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित वालेट सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।