काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले सञ्चालनमा ल्याउन लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पीएसपी) वा वालेटलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको निर्देशनअनुसार विद्युतीय प्रणालीमा अन्तरआबद्धता स्थापित गरी कार्यक्रमलाई सफल बनाउन अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई आवश्यक व्यवस्था मिलाउन भनिएको हो ।
निर्देशनअनुसार भुक्तानी सेवा प्रदायकहरूले आफ्ना मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) का लागि छुट्टै खण्ड समावेश गर्नुपर्नेछ ।
यस्तै, आगामी साउन २१ गतेदेखि कार्यक्रम सञ्चालनमा आउने भएकाले साउन १६ गतेदेखि नै मोबाइल एपमार्फत ग्राहकलाई सूचना (नोटिफिकेसन) पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यदि कार्यक्रममा सहभागी हुन ग्राहकले मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था भएमा त्यससम्बन्धी जानकारी पनि नोटिफिकेसनमार्फत नै उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सरकारले आन्तरिक राजस्व विभागमार्फत सञ्चालन गर्न लागेको उक्त कार्यक्रममार्फत विद्युतीय भुक्तानी तथा कर प्रणालीलाई थप प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा ग्राहकलाई समयमै सूचना उपलब्ध गराउन राष्ट्र बैंकले सबै अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो ।