शाइन रेसुङ्गाको नाफामा ८२.९६ प्रतिशत छलाङ, लाभांश क्षमता १६.८६ प्रतिशत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ८२.९६ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.८९ प्रतिशत बढेर २ अर्ब ८२ करोड ६७ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ६४ करोड ४३ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३ अर्ब १६ करोड ७९ लाख १२ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ३० करोड १८ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख ५५ हजार रुपैयाँ र सञ्चालन नाफा ९१ करोड ११ लाख १५ हजार रुपैयाँ थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ८४ करोड ६४ लाख ९८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १६.८६ प्रतिशत रहेको छ ।  ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ८ लाख २१ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ८.४७ प्रतिशत बढेर ७७ अर्ब ८५ करोड २६ लाख ६२ हजार रुपैयाँ र कर्जा लगानी ११.१७ प्रतिशत बढेर ६३ अर्ब २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९० करोड ७१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८४.१८ प्रतिशत रहेको छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३.२४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.५२ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १७.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ । 

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ पनि समावेश

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने प्रस्ताव गरिएको छ । विधेयकमा निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने कानुनी मुद्रा नमानिने स्पष्ट व्यवस्था गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा डिजिटल करेन्सीको परिभाषा र कानुनी दायराबारे छलफल भएको हो । बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले विधेयकमा समेटिएको डिजिटल करेन्सीको व्यवस्थाले केन्द्रीय बैंक डिजिटल करेन्सी (सीबीडीसी) लाई जनाउने बताए । उनले क्रिप्टो तथा भर्चुअल करेन्सीलाई राष्ट्र बैंक ऐनमा समेट्न आवश्यक नरहेको उल्लेख गर्दै तीसँग सम्बन्धित विषय सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनमार्फत सम्बोधन भइसकेको जानकारी दिए ।  अर्थ सचिव डा. घनश्याम उपाध्यायले डिजिटल करेन्सी र डिजिटल बैंकिङ प्रणालीलाई एउटै विषयका रूपमा परिभाषित गर्न आवश्यक नरहेको बताए । उनका अनुसार डिजिटल करेन्सीको स्वरूप र सञ्चालन प्रणाली आफैंमा स्पष्ट भएकाले छुट्टै डिजिटल बैंकिङ प्रणाली उल्लेख गर्नुपर्ने आवश्यकता छैन । उनले आवश्यक स्पष्टताका लागि ‘नेपाल राष्ट्र बैंकले तोकेको डिजिटल करेन्सी’ भन्ने व्यवस्था राख्न सकिने सुझाव पनि दिए । करेन्सी मूलतः केन्द्रीय बैंकसँग सम्बन्धित विषय भएकाले डिजिटल करेन्सी भन्नाले राष्ट्र बैंकले जारी वा तोकेको डिजिटल मुद्रा बुझिने उनको भनाइ छ ।  संशोधन प्रस्तावअनुसार ऐनको दफा २ को उपदफा (४) को खण्ड (झ) मा ‘करेन्सी’ भन्नाले चलनचल्तीमा रहेको बैंक नोट जनाउने र त्यसमा सिक्कासँगै नेपाल राष्ट्र बैंकबाट जारी गरिएको डिजिटल करेन्सी पनि समावेश हुने व्यवस्था गरिएको छ । हालको ऐनमा भने बैंक नोट र सिक्कालाई मात्र करेन्सीको परिभाषामा राखिएको छ ।

माछापुच्छ्रे बैंकका ८ शाखा समायोजन, कुन-कुन हुन् ?

काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरेको छ । बैंकले सोमबार (साउन १८ गते) देखि लागू हुने गरी महानगरपालिकाभित्र सञ्चालनमा रहेका केही शाखालाई नजिकका शाखामा समायोजन गरेको जनाएको छ ।  बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखामा, काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भू शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन गरिएको हो । त्यस्तै, कास्कीको लामाचौर शाखा बगर शाखामा तथा पर्साको वीरगञ्ज (लिंक रोड) शाखा आदर्शनगर शाखामा समायोजन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले समायोजनपश्चात् सञ्चालनमा रहेका शाखाबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा यथावत रूपमा प्राप्त गर्न सक्नेछन् ।