नाडा अटो शोमा नेपाल बैंकको अफर, ३ लाखसम्मको लाइफटाइम क्रेडिट कार्ड निःशुल्क

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा लिन सकिनेछ । यस योजनाअन्तर्गत कर्जा लिँदा कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी, कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना ३ लाख रुपैयाँसम्मको आजीवन क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।

बैंकहरुले कर तिर्न छुट्याए साढे ३७ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकहरुले ३७ अर्ब ६२ करोड २ लाख ३३ हजार रुपैयाँ आय करका छुट्याएका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले छुट्याएको आय कर अघिल्लो वर्षको तुलनामा ९.१३ प्रतिशत अर्थात् ३ अर्ब १४ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले ३४ अर्ब ४७ करोड रुपैयाँ आय कर छुट्याएका थिए ।  आयकरका लागि सबैभन्दा धेरै रकम छुट्याउनेमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आयकर छुट्याएको छ । नबिल बैंकले नै गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ आयकर छुट्याएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा २१.११ प्रतिशत अर्थात् ६२ करोड ८२ लाख रुपैयाँ बढी रकम करका लागि छुट्याइएको हो । त्यस्तै, सबैभन्दा धेरै आयकर छुट्याउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ आयकर छुट्याएको छ । यो अघिल्लो वर्षको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा ३१.४५ प्रतिशत अर्थात् ८२ करोड ६९ लाख रुपैयाँ बढी हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८३ हजार ३६७ प्रतिशत बढेर १ अर्ब १५ करोड ३५ लाख २७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ८१.३७ प्रतिशत बढेर १ अर्ब ३९ करोड ५७ लाख ३ हजार रुपैयाँ, सानिमा बैंकको ५३.८२ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३८ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३३ लाख ५२ हजार रुपैयाँ, प्रभु बैंकको ४६.३७ प्रतिशत बढेर २ अर्ब ३१ करोड ८ लाख ७१ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् ।  यस्तै, एनएमबि बैंकको ४१.१८ प्रतिशत बढेर १ अर्ब ७९ करोड ५५ लाख २९ हजार रुपैयाँ, प्राइम बैंकको १४.३९ प्रतिशत बढेर २ अर्ब २८ करोड ४१ लाख ३१ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६.८१ प्रतिशत बढेर ३ अर्ब २ करोड ४६ लाख ६६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको २.०९ प्रतिशत बढेर ९२ करोड ८५ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् ।  गत आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकको आयकर रकम भने घटेको छ । कुमारी बैंकले ३५.९६ प्रतिशतले घटाएर २ अर्ब ९२ करोड ४५ लाख ९५ हजार रुपैयाँ आयकरका लागि छुट्याएको छ । त्यस्तै, कृषि विकास बैंकले १२.०२ प्रतिशत घटाएर १ अर्ब २ करोड ८१ लाख ५४ हजार रुपैयाँ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२.२० प्रतिशत घटाएर १ अर्ब ३१ करोड ८५ लाख ८१ हजार रुपैयाँ छुट्याएका छन् । एभरेस्ट बैंकले १०.०९ प्रतिशत घटाएर २ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ, हिमालयन बैंकले ६.८० प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख ६५ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ५.९७ प्रतिशत घटाएर १ अर्ब ६४ करोड ६१ लाख ८२ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् । नेपाल एसबीआई बैंकले ४.६२ प्रतिशत घटाएर ८८ करोड ७७ लाख १० हजार रुपैयाँ, सिद्धार्थ बैंकले २.९८ प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख १९ हजार रुपैयाँ र नेपाल बैंकले ०.३९ प्रतिशत घटाएर १ अर्ब ५३ करोड ११ लाख ४१ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् ।

कृषि विकास बैंकको मोबाइल एपबाट १० लाखसम्म पुरस्कार जित्ने अवसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभाग (आईआरडी)को करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा यस्तो सुविधा थपेको जनाएको छ । नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।  कसरी सहभागी हुने ? कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ । त्यसरी भुक्तानी गर्दा सम्बन्धित प्यान वा भ्याट बिल लिएर प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्नेछ ।  दैनिक १ लाखदेखि बम्पर १० लाखसम्म पुरस्कार आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् । एक जना भाग्यशाली ग्राहकले दैनिक पुरस्कारका रूपमा कर कट्टीपछि १ लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन् ।  एपबाटै कारोबार र पुरस्कारको अवस्था हेर्न सकिने कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस’मा छुट्टै ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ मेनु थपेको छ । यसमार्फत ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा कारोबारको इतिहास हेर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले आफ्नो पुरस्कारको अवस्था र भाग्यशाली छनोटको नतिजासमेत एपबाटै हेर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । यस कार्यक्रमले डिजिटल कारोबार विस्तार गर्दै नगदरहित अर्थतन्त्र निर्माण र वित्तीय पारदर्शिता बढाउन योगदान पुर्‍याउने बैंकको विश्वास छ ।