कामना सेवा विकास बैंकले सेयरधनीलाई बाँड्दैछ १५ प्रतिशत नगद लाभांश

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको ४२१औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

बैंकले साधारण सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाब पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावमा समेत सभाले निर्णय गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

गत आर्थिक वर्षमा बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News