बीमा विस्तारका लागि माछापुच्छ्रे बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच सहकार्य

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालयमा मंगलबार समझदारी भएको हो । समझदारी पत्रमा बैंकको अनुसन्धान र व्यापार पोर्टफोलियो विभाग प्रमुख कुमार ज्ञवाली र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिलराज गिरिले हस्ताक्षर गरे ।  सम्झौताअनुसार दुबै संस्था बीमा सेवा पहुँचविहीन वर्गसम्म पुर्‍याउने उद्देश्यले आपसी सहकार्यमा अघि बढ्ने छन् । सहकार्यपछि माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब बैंकको शाखामार्फत सहज रूपमा नेपाल माइक्रो इन्स्योरेन्सका बीमा उत्पादन तथा सेवा प्राप्त गर्न सक्नेछन् । यसले वित्तीय समावेशिता प्रवद्र्धनसँगै विपन्न तथा ग्रामीण समुदायमा बीमाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । दुबै संस्थाले आगामी दिनमा डिजिटल प्रविधिको उपयोग गर्दै बीमा अभिभानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएका छन् ।

विभिन्न जिल्लामा ज्योति विकास बैंकले बाँड्यो बेबी वार्मर

काठमाडौं । ज्योति विकास बैंकले रोल्पा जिल्लास्थित घर्तीगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया ९अल्पताप० को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।  बैंकले रोल्पा जिल्लाको घर्तीगाउँ लगायत, स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मी जिल्लाको पुर्तीघाटस्थित हेल्थ पोस्टमा सो उपकरण प्रदान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो। ज्योति विकास बैंकको पहलमा रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं। ०२ स्थित घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ ।  यसका अतिरिक्त बैंकले गुल्मी जिल्लाको पुर्तिघाट हेल्थ पोस्टमा र स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ स्थित अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ुहाम्रो विकास प्रवद्र्धन कोषु मार्फत यी ३ वटा बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ।  यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको हो ।  साथै हालसम्मको योगदानले करिब ११ हजार ४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन् ।  यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोडले राजस्वमा योगदान पुर्याएको छ । साथै चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले गर्‍यो टोखा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा हजारवटा फलफुलको बिरुवा लगाएको हो ।  कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनिधिहरू र विद्यार्थी सहित स्थानीयहरूको उपस्थिति रहेको थियो ।  साथै बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा १५०० वटा बाँसका बिरुवाहरू रोपण गरेको छ ।  कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षरोपण गरिरहेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरूको विभिन्न स्थानहरुमा वृक्षरोपण गरीरहेको छ । साथै, उक्त बृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।