काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा बन्धु प्रसाद बाँस्तोला नियुक्त भएका छन् ।
बैंकको संस्थापक नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका महेश आचार्यको स्थानमा अर्थ मन्त्रालयले बाँस्तोलालाई पठाएपछि उनलाई सञ्चालकमा नियुक्त गरिएको हो ।
बैंक सञ्चालक समितिको १९४औँ बैठकले बाँस्तोलालाई असोज १९ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ सञ्चालक नियुक्तिपछि बैंकको सञ्चालक समितिमा महेश प्रसाद दाहाल स्वतन्त्र सञ्चालक तथा अध्यक्ष रहेका छन् । त्यस्तै, बन्धु प्रसाद बाँस्तोला नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक बनेका छन् ।
समितिमा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सुरेन्द्रराज रेग्मी, विशाल ग्रुपका प्रतिनिधि दीपक कुमार अग्रवाल र इमर्जिङ नेपालका प्रतिनिधि विशाल उप्रेती संस्थापक समूहबाट सञ्चालक छन् ।
त्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट डा. मनिष थापा र अनिता रायमाझी सञ्चालक रहेका छन् ।