सूर्य थापाको प्रस्ताव : नेपाली नोटमा पृथ्वीनारायण शाहको फोटो राखौं
काठमाडौं । सांसद सूर्य थापाले नेपाली नोटमा तस्बिर परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सामेबार अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘नोटहरुमा कुन-कुन तस्बिर राख्ने हो, यो विषयमा पनि छलफल हुन आवश्यक छ,’ उनले भने । उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्नुपर्ने धारणा राखे । ‘म राजावादी होइन, राजा फाल्नका लागि म लडेको हुँ । तर, हामीले पृथ्वी नारायण शाहको कदर गर्नुपर्छ, उहाँले नेपाल एकीकरण गर्नुभयो, उहाँलाई नोटमा राख्दा राष्ट्र बैंक र नेपालकै इज्जत बढ्छ,’ उनले भने, ‘भगवान गौतम बुद्धको फोटो नभएको पनि के नेपाली नोट ?’ यस्तै, उनले अहिले सर्वसाधारणको निक्षेप संकटमा रहेको सुनाउँदै २२ प्रतिशत खराब कर्जा पुगेका बैंक रहेकोले त्यसको असर अन्य बैंक पनि पर्ने बताए । ‘बैंक वित्तीय क्षेत्रमा सुशासन सुनिश्चित गर्नका लागि कानुनले गाइड गर्नुपर्छ, निक्षेप संरक्षण र लगानीको वातावरण सिर्जना गर्नुपर्छ, बैंकबाट ऋण लिने तर ऋण तिर्नु पर्दैन भन्नेलाई हामीले कसरी कानूनी व्यवस्था गर्ने ? त्यो अपराध हो । तर, हामी अभियान सञ्चालन गर्छौं, यसलाई रोक्नुपर्छ,’ उनले भने । यस्तै, बैंकमा सञ्चालक स्वतन्त्र हुनुपर्ने उनको राय छ । ‘बैंकमा मिलेमतो हुने, कार्टेलिङ हुने विषय रोक्नुपर्छ, विधेयकका विषयमा आकाश खोल्न बाँकी छ,’ उनले भने ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई थप नयाँ स्कीम, यति एअरलाइन्सको टिकटमा सुविधैसुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप नयाँ र रचनात्मक कार्यको शुभारम्भ गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै ग्लोबल स्काई क्लब कार्ड स्कीमको सुभारम्भ गरेको हो । बैंकले यति एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ नामक नयाँ सुविधा सार्वजनिक गरेको हो । हालै काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यति एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरे। यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकहरूले ग्लोबल स्काई क्लब कार्डमार्फत यति एअरलाइन्सको हवाई पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक स्वरूप एक निःशुल्क टिकटको सुविधा प्राप्त गर्नेछन् । साथै यस कार्डमार्फत कारोबार गर्दा विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधा लगायतको सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कार्डबाहकहरूले यति एअरलाइन्सको टिकट खरिद गर्दा अधिकतम ५०० रुपैयाँ वा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । साथै कार्ड जारी गर्दा १०० बोनस पोइन्ट दिइनेछ, जुन छुट, पुरस्कार वा अन्य सेवाका लागि प्रयोग गर्न सकिनेछ । कार्डको माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर दिने बैंकले जनाएको छ । ग्लोबल स्काई क्लब कार्डबाहकहरूलाई विमानस्थलमा प्राथमिकता दिइनेछ । चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइनेछ भने यात्रुहरूले सामानको अधिकतम तौल सीमा भन्दा ५ केजी थप सामान बोक्न पाउनु हुनेछ । यसले थोरै भए पनि ग्लोबल आइएमई बैंकका ग्राहकलाई राहत मिल्ने विश्वास बैंकको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यति एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने धारणा राखे । यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए । ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यति एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरतरुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ । हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरू लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिइरहेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकमा साढे २ अर्ब हिनामिना, पूर्वअध्यक्ष एवं सीईओ पक्राउ
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन् । २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ राय पक्राउ परेका हुन् । बैंकको सीईओ तथा अध्यक्ष पदमा रही बचतकर्ताहरूरूो रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिए । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए । रायलाई रुपन्देही सिद्धार्थनगरपालिका-१ बेलहियाबाट जेठ १७ गते पक्राउ गरिएको हो । २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सीईओका रुपमा कार्यरत थिए। उनले लामो समय सञ्चालक समिति अध्यक्ष भएर पनि काम गरे । उनी बाँकेका स्थायी बासिन्दा हुन्। यो प्रकरणमा पूर्वसीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएको बुझिएको छ ।