नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ भूमिकासहित अब आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृत दुवै जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विकास आनन्दको नेतृत्वमा बैंकिङ सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू विस्तार गरेको छ ।
निजी क्षेत्रलाई लाइसेन्स, यस्तो हुनेछ सरकारले घोषणा गरेको ‘नियो बैंक’
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नियो बैंक स्थपना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै नियो बैंक स्थापना गर्ने घोषणा गरे । यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेका थिए । उनले नीतिगत तथा कानूनी व्यवस्था गरी सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेका थिए । तर, नीति तथा कार्यक्रम प्रस्तुत भएको एक महिना नबित्दै सरकारले नाम परिवर्तन गरेर नियो बैंक राखेको छ । ‘नीति तथा कार्यक्रममा डिजिटल बैंक भनेर ल्याइएको थियो, अहिले हामी नियो बैंक भनेर राख्यौं, नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भन्छन्, ‘अन्तर्राष्ट्रिय अभ्यासमा पनि नियो बैंक नै भनिने रहेछ, त्यसैले हामी पनि अब डिजिटल बैंकको सट्टा नियो बैंक राख्यौं ।’ उसो त नियो बैंक कस्तो हुन्छ, यसको संरचनागत पूर्वाधार र स्थापनाको मोडालिटी कस्तो हुन्छ भन्ने विषयमा सरकारले राष्ट्र बैंक र सरकारले स्पष्ट रुपमा बुझाउन सकेको छैन । तर, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा स्थापना हुने भनिएको नियो बैंक पूर्णरुपमा डिजिटल हुनेछ । प्रवक्ता पौडेलका अनुसार नियो बैंकको विषयमा अहिले कुनै पनि मोडालिटी बन्न सकेको छैन । तर, अनौपचारिक छलफलले यो बैंक अहिले रहेका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीभन्दा भने पृथक हुनेछ । यसको सञ्चालन तथा कारोबार पनि पूर्णरुपमा विद्युतीय हुने उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यास सुनाउँदै पौडेलले भने, ‘नियो बैंक पूर्णरुपमा डिजिटल हुने भएकोले यसको शाखा सञ्जालहरु हुने छैनन्, हरेक सेवाहरु डिजिटल प्लेटफर्ममार्फत हुनेछ, ग्राहकले पनि बैंकमै पुगेर सेवा लिनु पर्दैन ।’ अहिले बाफियाको विधेयक संसदमा छ । सो विधेयक पारित भइसकेपछि नियो बैंकको स्थापना अगाडि बढ्नेछ । ‘कस्तो बन्छ भन्ने ‘लिगल फ्रेमवर्क हामीले बनाइसकेका छैनौं, यसको स्थापना, पुँजी र सेवा प्रवाहको विषयमा ऐन पारित भइसकेपछि अगाडि बढ्छ,’ उनले विकासन्युजसँग भने । बाफिया ऐनको दफा ४९ मा थप प्राबधान राख्दै सरकारले डिजिटल बैंक सञ्चालन गर्न सक्ने व्यवस्था अघि सारेको छ । ‘यो ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधिनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोके बमोजिम निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्नेछ’ प्रस्तावित विधेयकमा भनिएको छ । बाफियाको दफा ३२ को उपदफा २ मा संशोधन गरेर डिजिटल बैंकलाई बैंक तथा वित्तीय संस्थाको नाम प्रयोगको अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ । नियो बैंकमा स्वदेशी लगानीकर्ताकै मात्रै बनाउने कि विदेशी लगानीकर्ता पनि भित्र्याउने भन्ने विषयमा पनि पछि नै छलफल हुने पौडेलको भनाइ छ । ‘फिट एण्ड प्रोपर टेष्ट, समग्र कानूनी फ्रेमवर्क र नियो बैंकको स्वामित्वको विषयमा अहिले अध्ययन भइसकेको छैन, पछि नै हुन्छ होला,’ उनले भने । अनौपचारिक रुपमा भने नियो बैंकमा निजी क्षेत्रकै लगानी हुन सक्ने छलफल भएको छ । संसदबाट बाफिया पारित भएपछि नियो बैंक स्थापनाका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरिनेछ । आएका प्रस्तावबाट उपयुक्तलाई सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिएर स्थापनाको प्रक्रिया अगाडि बढाइनेछ । नियो बैंकको नियमन भने राष्ट्र बैंकले नै गर्नेछ । अहिले विश्वभर बैंकिङ प्रणालीमा भइरहेको परिवर्तन र सेवाग्राहीलाई द्रूत रुपमा सेवा प्रदान गर्नका लागि नियो बैंक अतिआवश्यक रहेको उनको भनाइ छ । उसो त अहिले पनि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले पूर्णतः डिजिटल बन्ने प्रयास गरिरहेका छन् । ती बैंकहरुले पनि शाखाको संख्या घटाएर अनलाइन प्लेटफर्ममार्फत सेवा दिने प्रयास गरिरहेका छन् । तर, त्यो प्रयाप्त नभएको पौडेलको बुझाइ छ । सरकारले डिजिटल नेपालको अवधारणा अगाडि सारे बमोजिम राष्ट्र बैंकले पनि सो रणनीतिमा साथ दिन नियो बैंकको योजना अगाडि सारेको हो । नियो बैंक स्थापनापछि सबै सेवाहरु पूर्णतः अनलाइन हुनेछ भने सेवाग्राहीले मोबाइल एप्स, वेबसाइट तथा डिजिटल प्लेटफर्ममार्फत खाता खोल्ने, रकम ट्रान्सफर गर्ने, ऋण लिने, कार्ड सेवा र अन्य वित्तीय सेवाहरु अनलाइनबाटै लिन सक्नेछन् । अहिले वाणिज्य बैंक र विकास बैंकले केही हदसम्म डिजिटल बैंकिङ सेवालाई अगाडि बढाए पनि सेवाग्राहीलाई बढी आर्थिक भार परेको गुनासो पनि छ । नियो बैंक स्थापना पछि विभिन्न सेवा शुल्क पनि सस्तो हुनेछ । विदेशमा पनि नियो बैंकहरुले राम्रो पफर्मेन्स गरिरहेका छन् । परम्परागत बैंकिङ अभ्यासलाई नयाँपन दिने काम नियो बैंकले गरिरहेका छन् । अमेरिकामा भरो बैंक, बेलायतको मन्जो, जर्मनीको एन२६ र भारतमा जुपिटर, एफआई मनि नियो बैंकका रुपमा सञ्चालित छन् । यी बैंकहरुले प्रयोगकर्तामैत्री सहज सेवा र न्यून लागतसँगै नवीनताको स्वाद सेवाग्राहीलाई दिइरहेका छन् ।
कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
काठमाडौं । कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुने बैंकले जनाएको छ । यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई बिस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबारमार्फत थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । विगत २४ वर्षदेखि कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।