नबिल बैंकले पायो एसिया–प्रशान्त क्षेत्रको ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

काठमाडौं । नबिल बैंकले एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्राप्त गरेको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो प्रतिष्ठित पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ ।

विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्याङ्कनका आधारमा प्रदान गरिएको बैंकले जनाएकाे छ ।

बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएकाे  छ ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो। त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंक जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

Share News