कामना सेवा विकास बैंकले गर्यो सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री
काठमाडौं । कामना सेवा विकास बैंकले झापा मेचीनगरको श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ । कार्यक्रममा बैंकको इँट्टाभट्टा शाखा प्रबन्धक श्री निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे । सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक-आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । आगामी दिनहरुमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । बिहिबार आयोजित कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्जका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्जसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
निफ्रा हरित ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद ३ दिन थप
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद तीन दिन थप गरिएको छ । अब लगानीकर्ताले आगामी जेठ २५ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्नेछन् । निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन गरेको थियो । प्रारम्भिक म्याद जेठ २१ गतेसम्म तोकिएको भए पनि भोटो जात्राका अवसरमा परेको सार्वजनिक बिदाका कारण एक दिन थप गर्दै म्याद जेठ २२ सम्म पुर्याइएको थियो । तर, मागअनुसार आवेदन नपरेपछि थप तीन दिनको समयावधि थपिएको हो । कुल ५० लाख इकाइमध्ये ३० लाख इकाइ संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणको हिस्सा भित्र १ लाख इकाइ सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने बाँकी १९ लाख इकाइमा आम लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। एक इकाइको मूल्य १ हजार रुपैयाँ निर्धारण गरिएको छ । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्बा सेवा र तिनका शाखा कार्यालयहरू तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्न सकिनेछ। सात वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज दिइनेछ । निफ्राको ऋणपत्र बिक्री व्यवस्थापक एनआईएमबी एस क्यापिटल रहेको छ ।