काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा चार जना कर्मचारी र एक जना सुरक्षाकर्मी कार्यरत थिए ।
बैंकका अनुसार पाँच जनामध्ये एक जना कर्मचारीसँग सम्पर्क भएको छ । उनी भागेर सुरक्षित हुन सफल भएका हुन् । बाँकी तीन जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग भने अझै सम्पर्क हुन सकेको छैन ।
सम्पर्क विहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ । यसैगरी, बैंकको नुवाकोटस्थित बट्टार शाखामा भने बाढीको कुनै असर नपरेको बैंकले जनाएको छ ।