काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ ।
बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क हुन नसक्दा बैंकमा चिन्ता बढेको भए पनि उनीहरू डाँडामा गएर सुरक्षित बसेको जानकारी प्राप्त भएको बैंकले जनाएको छ । हाल सबै कर्मचारी सम्पर्कमा आइसकेका छन् ।
बैंकका अनुसार टिमुरे शाखामा दैनिक १०–१२ वटा मात्रै कारोबार हुने गरेको थियो । अपेक्षाअनुसार कारोबार हुन नसकेपछि उक्त शाखा बन्द गर्ने तयारीसमेत भइरहेको थियो । शाखा बन्द गर्न राष्ट्र बैंकसँग अनौपचारिक रूपमा छलफल भइरहेको भए पनि प्रक्रिया पूरा हुनुअघि नै बाढीले शाखा बगाएको हो ।
उक्त शाखा तत्कालीन सनराइज बैंकका पालामा राम्रो कारोबार हुने अपेक्षासहित खोलिएको थियो । तर अपेक्षाअनुसार कारोबार हुन नसकेपछि बन्द गर्ने योजना बनाइएको बैंकले जनाएको छ ।
यसैबीच, बट्टार शाखामा भौतिक क्षति नभए पनि सञ्चार तथा कनेक्सन विच्छेद भएका कारण शाखाको सेवा बन्द गर्नुपरेको बैंकले जनाएको छ ।