काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा आबद्ध भएको छ । निफ्रा एसोसिएट सदस्य बनेसँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ ।
निफ्राको सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन तथा जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक चुनौतीलाई सम्बन्धित सरोकारवालासमक्ष सामूहिक रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने संघले जनाएको छ ।
त्यस्तै, आवश्यक साझा धारणा निर्माण, नीतिगत सिफारिस तथा सुझाव प्रस्तुत गर्नसमेत यस सहकार्यले थप आधार प्रदान गर्ने विश्वास गरिएको छ ।
निफ्राको पूर्वाधार वित्त तथा लगानीसम्बन्धी अनुभव र विशेषज्ञताबाट संघका अध्ययन, अनुसन्धान, नीतिगत संवाद तथा ज्ञान आदानप्रदानमा साझा सिकाइका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।