मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, निक्षेपसँगै बढ्यो कर्जा
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा खुद नाफा १४.५७ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख ररुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेर ७९ करोड ८७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ, सञ्चालन नाफा १०.८४ प्रतिशत घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ गरेको छ । असोज मसान्तसम्मा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो वितरणयोग्य नाफाका आधारमा बैंकले ३०.१५ प्रतिशत लाभांश क्षमता राखेको छ । यसअवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष ३.८० प्रतिशत बढेर ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ६.१० प्रतिशत बढेर ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ र कर्जा लगानी १.९९ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २ करोड ६६ लाख रुपैयाँ प्रवाह गरेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.८६ रुपैयाँ घटेर २५.९७ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ । गत वर्षको असोजसम्म ४.२४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष घटेर ४.३१ प्रतिशतमा झारेको छ ।
ग्लोबल आइएमई बैंक र नास–आईटी अन्तरक्रिया : डिजिटल बैंकिङ, कर्जा, र व्यवसाय विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल/नविनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए । साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत संचालन गरिरहेको जानकारी दिए । बैंक र नास–आईटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।