२ अर्ब ७१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो ।  राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।  केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।  वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ ।  २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।  त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।  उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक २३ गते भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ । 

आन्दोलनको असर बैंकको नाफामा, १८.८२ प्रतिशत गिरावट आउँदा ५ बैंकको मात्रै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् ।  देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् ।  साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ ।  समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा घट्यो  चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ । 

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस अवधिमा बैंकको सञ्चाल नाफा १४.९४ प्रतिशत बढेर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चाल नाफा ५७ करोड २१ लाख रुपैयाँ थियो । १३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ ।