गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले भोलि अर्थात् कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंक सञ्चालक समितिले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
सिद्धार्थ र सिटिजन्स बैंकको मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक र सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ सिद्धार्थ र सिटिजन्स बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । सिद्धार्थ र सिटिजन्स बैंकको ५/५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात सिद्धार्थ बैंकको सेयर मूल्य ३४९.५२ रुपैयाँ र सिटिजन्स बैंकको २०२ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज सोमबार सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबारको अन्तिम मूल्यका आधारमा यी दुई बैंकको सेयर मूल्य समायोजन गरेको हो । आइतबार सिद्धार्थको सेयर प्रतिकित्ता ३६७ रुपैयाँ र सिटिजन्सको २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सिद्धार्थ बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ । तर, हालसम्म बैंकले साधारण सभा आह्वान गरिसकेको छैन ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजन विक्रम थापा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजन विक्रम थापा बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार थापालाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देश विश्रुत थापाले जानकारी दिए । थापालाई गभर्नरको कार्यालयको जिम्मेवारी प्रदान गरिएको उनले बताए । विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा पदोन्नति भएका थापा वि.सं २०५३ मा सहायक पदबाट बैंक प्रवेश गरेका थिए । साउन २७ गते सहायक निर्देशक पदमा हालका डेपुटी गभर्नर बम बहादुर मिश्रसहित २० जना राष्ट्र बैंकमा प्रवेश गरेका थिए । सोही समूहमा थापा पनि थिए । तर, आन्तरिक परीक्षा र बढुवा प्रक्रियाबाट मिश्र डेपुटी गभर्नर बनेका छन् भने अन्य केही व्यक्ति कार्यकारी निर्देशक । थापासँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् । थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्यिक र गीतहरूमा समेत रूची राख्छन् । उनी सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् ।