प्रभु बैंकले कालिमाटी र लिङ्करोड शाखा बन्द गर्दै

काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा रहेका दुई शाखा कार्यालय एक–आपसमा समायोजन गर्ने भएको छ । बैंकले कालिमाटी र लिङ्करोड वीरगन्ज शाखा समायोजन गर्न लागेको जनाएको हो । 

बैंकका अनुसार काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुनेछ । कालिमाटी शाखा र टेकु शाखाबीचको दूरी करिब ३०० मिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् ।

त्यस्तै, पर्साको लिङ्करोड वीरगन्ज शाखा वीरगन्ज शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीचको दूरी करिब १.५ किलोमिटर रहेको बैंकले जनाएको छ । समायोजनपछि लिङ्करोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन् । 

बैंकले दुवै शाखा मंसिर २४ गतेदेखि समायोजन गरी कारोबार सञ्चालन गर्ने जनाएको छ । यसैबीच, समायोजन हुने शाखा कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्ति हाल जुन अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदनसहित सम्पर्क गर्न सक्नेछन् । 

Share News