काठमाडौं । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत जोडेर उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविन मुनि बज्राचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको जनाएको छ ।
नेपाल एसबिआई बैंकले प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनरुत्थान, पुनःस्थापना र समग्र कल्याणका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, सात प्रादेशिक कार्यालय, १२७ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।