सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास जनसेवा हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिबास जनसेवाका सबै सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । त्यस्तै हालै वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्डमार्फत १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० क्यासब्याक दिइने छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट सेवाहरु प्रदान गर्दै आएको छ ।
लमजुङको हिले बजारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर
लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरे । हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५० पुगेको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए । त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय बासिन्दाको उपस्थिति थियो । बैंकले देशभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
नयाँ वर्षमा अनलाइन सपिङ गर्दा नेपाल बैंकका ग्राहकहरूलाई विशेष अफर
काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा नेपाल बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक नेपाल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । उक्त अफर चैत २८ गतेदेखि लागू हुने बैंकले जनाएको छ । नेपाल बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजैदेखि आवेदन दिनसमेत आग्रह गरेको छ ।