महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरिएको जनाएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले बैंकले विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गरेकोप्रति बैंकलाई धन्यवाद ज्ञापन गरे । महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
नयाँ वर्षमा अनलाइन सपिङ गर्दा मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई छुट
काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मुक्तिनाथ विकास बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बुधबार मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त अफर चैत २८ गतेदेखि सीमित समयको लागि लागू हुने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजैदेखि आवेदन दिनसमेत आग्रह गरेको छ ।
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
काठमाडौं । नेपाल सरकारले यस आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरे पनि नपुग्ने एसियाली विकास बैंक(एडीबी)ले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको हो । एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबीको प्रक्षेपण विश्व बैंकको प्रक्षेपणसँग मिल्छ । अर्थमन्त्री जनार्दन शर्माले पनि तोकिएको लक्ष्य प्राप्त नहुने यसअघि नै स्वीकार गरिसकेका छन् । महामारीविरुद्ध खोप अभियान जारी रहेको र युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले जनाएको छ । त्यस्तै एडीबीले सन् २०२१ मा नेपालको मूल्य वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२२ मा करिब दोब्बर अर्थात ६.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यस्तै नेपालको चालु खाता घाटा गतवर्षको भन्दा ९.७ प्रतिशत बढ्ने अनुमान गरिएको छ । त्यस्तै २०२२ मा औद्योगिक क्षेत्रको वृद्धिदर ४.१ प्रतिशतमाथि रहने एडीबीको प्रक्षेपण छ । सन् २०२३ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत अनुमान गरिएको छ । त्यस्तै २०२३ मा मूल्यवृद्धि घटेर ६.२ प्रतिशतमा रहने जनाइएको छ । दक्षिण एसियाली मुलुकमा श्रीलंका र नेपालको आर्थिक वृद्धिदर कमजोर रहनेछ भने माल्दिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले जनाएको छ ।